देश/प्रदेश

सन्दर्भ श्रमिक दिवस: मजुरीमै बित्यो जीवन

Banner

काठमाडौँ, वैशाख १९-

निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधै झैँ कम्मरमा पटुकी बेरेर उहाँ इँटा, बालुवा र ढुङ्गा बोक्न जानुभयो ।

विसीलाई मजदुर दिवसको अर्थ थाहा छैन, तर उहाँले आधा जीवन मजदुरीमै बिताइसक्नुभएको छ । बानेश्वरस्थित एउटा बन्दै गरेको घरमा उहाँले इँटा र बालुवा ओर्साने काम पाउनु भएको छ । “शारीरिक रुपले जति कठिन काम छ, उति नै जोखिम पनि छ”, उहाँ भन्नुहुन्छ, “यही काम पाउन पनि ६ महिना कुर्नुप¥यो ।” विसीका लागी श्रम गर्न पाउनु नै ठूलो उपलब्धि हो । त्यो भन्दा महत्वपूर्ण समयमै भनेजति पारिश्रमिक पाउनु हो । धादिङबाट उहाँ दुईवर्ष अघि काठमाडौँ परिवारसहित आउनुभएको हो ।

काठमाडौँमा रोजगारी पाउने आशा बोकेर आउनुभएकी विसी दु:ख गरे अनुसार पारिश्रमिक नपाएको बताउनुहुन्छ । “दिनभरी काम गर्‍यो, साहुले भने जति ज्याला दिँदैन,” उहाँ भन्नुहुन्छ,“काम नगरौँ केटाकेटी भोकै पर्छन् भन्ने चिन्ता हुन्छ ।”

ठेकेदारमार्फत रकम बुझ्ने हुँदा पूरै पारिश्रमिक नपाउने गरेको विसी बताउनुहुन्छ । “रकम थोरै भयो भन्यो भने अरुलाई काममा लैजान प्रतिस्पधा चल्छ । त्यसैले जस्तोसुकै अन्याय भए पनि सहनुपर्ने अवस्था छ”, विसीले भन्नुभयो–“ बेरोजगारी धेरै छ, थोरै ज्यालामा पनि काम गरिहाल्छन्, अझै महिलालाई त आधाको पनि आधा पारिश्रमिक दिने चलन छ ।”

यस्तै शङ्खुवासभाकी राममती तामाङ पनि घर बनाउन मजदुरी गर्नुहुन्छ । महिनाभरि एउटाको घरमा कपडा धुँदा रु १० हजार मात्रै पारिश्रमिक लिने गरेको उहाँले बताउनुभयो । यत्तिले खर्च पुग्दैन । त्यसैले उहाँ एक महिनामा तीनवटा घरमा कपडा धुने गरेको बताउनुहुन्छ । “समयमै तलब दिँदैनन्”, तामाङ भन्नुहुन्छ, “दुःख गरे जति कमाइ हुने भए श्रीमान् बिदेश पठाउनुपर्दैन थियो ।” उहाँका श्रीमान् रोजगारका लागि विदेशमा हुनुहुन्छ ।

पोखराका ज्ञानु गुरुङ काठमाडाँैमा पढ्न आउनुभयो । घरको खर्चले महँगी धान्न सकेन । उहाँले विकल्पमा काम दोहारी साँझमा गीत गाउने काम रोज्नु भयो । रातभरी गाउनुपर्ने मध्यरातमा कोठामा आउनुपर्ने । त्यसमा पनि समयमै तलब नपाउने उहाँले भोग्नु परेको पीडा हो । मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई त्यति सम्मानित दृष्टिले हेरिदैन भन्ने गुरुङले धेरै पटक महसुस गर्नुभएकोछ ।

त्यसैले पेसाको पहिचान लुकाएर श्रम गर्नु अर्को मजदुरको मुख्य चुनौती हो । “दोहोरीमा गाउने भनेर धेरैले कोठै दिन मानेनन्”, उहाँले भन्नुभयो,“त्यसैले अहिले अस्पतालको कर्मचारी भन्नुपरेको छ ।” ‘मर्यादित काम, श्रमिकको सम्मान हाम्रो अभियान भन्ने मूल नारा रहेको विश्व मजदुर दिवस’ले मनोरञ्जन क्षेत्रका मजदुरलाई छोएको छैन ।

श्रममा समान रोजगार विकास गराउने हेतुले काठमाडौँ महानगरपालिकाले श्रम बैंक स्थापना गरेको छ । महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीका अनुसार उक्त बैंकमा निवेदन पेस गरे आफ्नो दक्षता अनुकुलको जुनसुकै रोजगार उपलब्ध हुँदै आएको छ । “हामी कहाँ कामप्रतिको सम्मान नहुँदा श्रम बैंक प्रभावकारिता भने जति हुन नसकेको छैन”, कपालीले भन्नुभयो । व्यक्तिको क्षमता र दक्षता अनुसारको श्रम बैंकले रोजगार दिने उहाँले बताउनुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम ऐन कार्यान्वयनको अवस्था भयाभह भएको बेला घरेलु मजदुरको स्थीति अझै कहाली लाग्दो रहेको सुनाउनुभयो । महासङ्घले हालै प्रकाशन गरेको तथ्याङ्क अनुसार २१ दशमलव सात प्रतिशत उद्योग र प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिएको अवस्था सार्वजनिक गरेको छ । यो विगतको तुलनामा ६ प्रतिशतले बढी हो । विसं २०७९ मा न्यूनतम पारिश्रमिक नदिनेको सङ्ख्या १५ दशमलव ३० प्रतिशत थियो । सरकारले रु १७ हजार तीन सय न्युनतम पारिश्रमिक तोकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>