Breaking News

चितवनमा ६ महिनामा ४२० वटा सवारी दुर्घटना, ७५ जनाको मृत्यु

  • Logo
    app haru
  • १४ माघ २०७८, शुक्रबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ १४ –
चितवनमा पछिल्लो साढे ६ महिनामा ४२० वटा सवारी साधन दुर्घटनामा परेका छन् । चालु आव ०७८/७९ को हालसम्म भएका २६४ वटा दुर्घटनामा ४२० वटा सवारी साधन संलग्न भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ती दुर्घटनामा ७५ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट १२२ जना गम्भीर घाइते भएका छन् भने ३२८ जना सामान्य घाइते भएका छन् । दुर्घटनाबाट पछिल्लो साढे ६ महिनामा ३३ वटा चौपायाको पनि मृत्यु भएको छ ।

सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । चालु आवको पुस मसान्तसम्ममा २०७ वटा मोटरसाइकल दुर्घटना भएको छ । यस्तै जिपकार ५३ वटा, ट्रक/टेंकर ५० वटा, बस ३१ वटा, शारीरिक शक्तिबाट चल्ने सवारी २२ वटा, माइक्रो १० वटा, ट्याक्टर १० वटा, टेम्पो ८ वटा, टिपर ६ वटा र अन्य २ वटा रहेका छन् । विगतका वर्षहरुमा पनि मोटरसाइकल दुर्घटना नै बढी हुने गरेका थिए ।

वर्षेनी बढ्दै दुर्घटना :

चितवनमा सवारी दुर्घटना वर्षेनी बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा ६६४ वटा दुर्घटनामा १२८ जनाको मृत्यु, २९० गम्भीर घाइते र ४१३ समान्य घाइते भएका थिए । उक्त आवमा ४३५ वटा दुर्घटना भएका थिए ।

गत आव ०७६/७७ मा ४३३ वटा दुर्घटनामा १०७ जनाले ज्यान गुमाएका थिए भने १६५ जना गम्भीर र ३२१ जना सामान्य घाइते भएका थिए । उक्त आवमा २६१ वटा दुर्घटना भएका थिए ।

पछिल्लो समय सवारी साधनको चाप बढ्दै जानु, तर सडक विस्तार नहुनु, तीव्र गतिमा सवारी चलाउनु, मोटरसाइकल दुर्घटना बढ्नु लगायतका कारणले दुर्घटना वर्षेनी बढ्दै गइरहेको ट्राफिक कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक भगवान थापाले बताए ।

मृत्यु हुनेमा पुरुषको संख्या बढी :

दुर्घटनाबाट मृत्यु तथा घाइते हुनेमा पुरुषको संख्या बढी छ । पछिल्लो ६ महिनामा ५४ जना पुरुष, ११ जना महिला, ५ जना बालक र १ बालिकाको मृत्यु भएको छ । घाइते हुनेमा पनि पुरुष नै बढी छन् ।

अघिल्लो आव ०७७/७८ मा १०१ जना पुरुष, २२ महिला, २ बालक र ३ बालिकाको मृत्यु भएको थियो । गत आव ०७६/७७ मा पनि मृत्यु हुनेमा पुरुषकै संख्या बढी छ ।

पूर्व–पश्चिम लोकमार्गमा सबैभन्दा बढी सवारी दुर्घटना :
चालु आवको ६ महिनामा सवारी दुर्घटना सबैभन्दा बढी हुने सडकमा पूर्व–पश्चिम लोकमार्ग रहेको छ । सो सडकमा ६३ वटा दुर्घटना भएका छन् भने १८ जनाको मृत्यु, ५० जना घाइते भएका छन् ।

नारायणगढ मुग्लिन सडकखण्डमा ५० वटा दुर्घटनामा १४ जनाको मृत्यु र १०७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा १३ वटा दुर्घटनामा ५ जनाको मृत्यु र १३ जना घाइते भएका छन् ।

यस्तै शहरी सडकखण्डमा २१ वटा दुर्घटनामा ३ जनाको मृत्यु र २९ जना घाइते भएका छन् । अन्य भित्री सडकमा ११७ वटा दुर्घटनामा ३१ जनाको मृत्यु र १८३ जना घाइते भएका छन् ।

अघिल्लो आव ०७७/७८ मा पूर्व–पश्चिम लोकमार्गमा १२७, नारायणगढ मुग्लिन सडकखण्डमा ७०, पृथ्वी राजमार्गमा २२, शहरी सडकखण्डमा ६६ र अन्य भित्री सडकमा १५० वटा सवारी दुर्घटना भएका थिए । विगतका वर्षहरुमा पनि पूर्व–पश्चिम लोकमार्गमै सबैभन्दा बढी सवारी दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ ।

चितवनको मुख्य बजार क्षेत्रहरु भरतपुर, टाँडी, पर्सा, भण्डारा पूर्व–पश्चिम लोकमार्गमै पर्ने हुँदा यस क्षेत्रमा सवारी साधनको चाप बढी छ । त्यसैले दुर्घटना पनि यसै सडकमा बढी हुने गरेको छ ।

तस्विर : नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँदा भएको दुर्घटना । (०७८ असार)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>