क्रिकेट

एसीसी प्रिमियर कपः सेमीफाइनलमा नेपाल भोलि युएईसंग भिड्ने

Banner

चितवन, वैशाख ६–

एशियाली क्रिकेट काउन्सीलको आयोजनामा भइरहेको एशिया कप छनोट प्रतियोगिता एसीसी प्रिमियर कपको सेमीफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको उपाधि दावेदार साविक विजेता नेपालले सेमीफाइनलमा पुरानै प्रतिद्धन्द्धी युएईले पाएको छ ।

समूह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता बनेको युएइसंग भिड्ने भएको छ । नेपाल आफ्नो समूहमा ४ खेलमा ४ जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । यसै समूहबाट हङकङ उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनायो । कतारसंग समान ४ अंक रहे पनि नेटरनरेटले कतारलाई पछि पार्दै हङकङ सेमीफाइनलको ढोका खोल्यो । ४ अंक भए पनि कतार तेस्रो, समान २ अंक भएका साउदी अरेबिया चौथो र मलेसीया पाँचौं स्थानमा रह्यो ।

यस्तै समूह ‘बी’ बाट विजेताको रुपमा घरेलु टोली ओमान सेमीफाइनल पुग्यो । समूहका सबै ४ खेल नै जित्दै ८ अंकका साथ ओमान सेमीफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट युएई उप–विजेताको रुपमा सेमीफाइनलमा नेपालसंगको भेट पक्का गरेको हो । युएइले ४ खेलमा ३ खेल जित्दै ६ अंक बटुलेर समूह उपविजेता बनेको हो । समूह चरणको खेलमा युएई घरेलु टोली ओमानसंग पराजित भएको थियो । ४ अंक बनाएको कुवेत तेस्रो, २ अंकका साथ बहराइन चौथो र अंक बटुल्न असफल कम्बोडिया पाँचौं स्थानमा रह्यो ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा भोलि (शुक्रबार) नेपालले विहान ११ः४५ बजे युएईसंग भिड्ने छ । भोलि नै दोस्रो सेमीफाइनलमा दिउँसो ४ः१५ बजे घरेलु टोली ओमान र हङकङ भिड्नेछन् । सेमीफाइनलबाटै बाहिरिने दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिष्पर्धा हुनेछ भने उपाधि जित्ने टोली आगामि वर्ष हुने एशिया कपमा छनोट हुनेछ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ एशिया कप खेल्न पाउने छन् ।
गतवर्ष नेपालमा भएको यही प्रतियोगितामा उपाधि जित्दै घरेलु टोली नेपाल पहिलोपटक श्रीलंका र पाकिस्तानमा एशिया कप खेलेको थियो । जहाँ क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसंग नेपालले प्रतिस्पर्धा गर्न मौका पाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>