समाचार

जीबी राईलाई पक्राउ गर्न रेडनोटिस जारी, मलेसियन सरकारलाई कूटनीतिक पत्र

Banner

काठमाडौं, वैशाख ६-

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको गृह मन्त्रालयका एक अधिकृतले बताए ।

परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको छ । यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको निक्षेप अपचलन गरेको कसुरमा डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा ‘लोकेट’ भएका हुन् । मलेसियाबाट पक्राउ गरेर नेपाल ल्याउन दुई देशका परराष्ट्र मन्त्रीहरूको बिचमा कुराकानी गर्ने र त्यसपछि नेपालबाटै प्रहरी पठाएर ल्याउने गरी तयारी भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

रेड नोटिस जारी भएसँगै इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनलाई अपराधी छिटो ‘डिपोर्ट’ गरिदिने दायित्व बढी हुन्छ । रेड नोटिस जारी गर्न आवश्यक कागजात प्रहरीले जिल्ला अदालत कास्कीबाट प्रमाणित गराएर इन्टरपोलमा पठाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>