खेलकुद

सागमा नेपाल पावर हाउस, अबको लक्ष्य विश्वकप:सदस्य सचिव सिलवाल

Banner

काठमाडौँ, मंसिर २६-

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले १३औं सागको सफलताबाट नेपाल दक्षिण एशियामा पावर हाउसको रुपमा उदाउन सफल भएको बताएका छन् ।

रिपोटर्स क्लब काठमाडौँले आज गरेको साक्षात्कारमा सिलवालले आफूहरुको अबको ध्यान भनेको १४औं साग प्रतियोगिता, ओलम्पिक गेम, एशियन गेम हुँदै विश्व कपसम्म रहेको सुनाउँदै यसप्रति आफूहरु जिम्मेवार र गम्भीर भएर लाग्ने बताए । उनले भने,‘दक्षिण एशियाली खेलकुदमा त हामी पावर हासउको रुपमा उदायौं । अब एशियन गेम हुँदै विश्वकपसम्म हुनेछ । त्यहीअनुसारको प्रशिक्षण र तयारी गर्छौं ।’

सदस्य सचिव सिलवालले यसलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिनुपर्ने चित्रण गरे । उनले भने,‘हामीले सबै खेललाई उत्तिकै महत्व दियौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीको लागि हिजो नगद पुरस्कार पनि घोषणा गरेको जनाउँदै उनले स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक विजेतलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख दिने बताए । उनले भने,‘टिम ईभेन्टमा स्वर्ण जित्नेलाई जनही ५ लाख दिने भनेका छौं । यो रकम कम भयो भन्ने पनि कुरा सुनियो । फुटबलको कुरा गर्दा २३ जनालाई जनही ५ लाखको दरले दिँदा एक करोड १५ लाख हुन्छ ।’ उनले ग्रुप र इण्डिभिज्युलको लागि स्पेशल प्याकेज पनि घोषणा गर्न सकिने विश्वास दिलाए ।

यद्यपि उनले सरकारले खेलाडीको लागि घोषणा गरेको पुरस्कार विगतको भन्दा दोब्बर भएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले हिजोको भन्दा दोब्बर पुरस्कार दिने घोषणा गरेका छौं । यसलाई कम भन्न मिल्दैन् । प्रधानमन्त्रीज्यूले पनि यो पुरस्कारलाई यत्तिकैमा सिमित गरिँदैन् भन्नुभएको छ । पुरस्कारको राशीलाई बढोत्तरी गर्ने भन्नुभएको छ । यो सुरुवात हो, अन्तिम होइन् । अब खेलाडीले पनि ध्यान दिनुपर्छ ।’

नेपालको खेलकुद जगतको वृद्धिविकासको लागि आफूहरु योजनासहित अघि बढ्न लागेको सिलवालले बताए । उनले भने,‘उद्यमी, व्यवसायी, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ, बैंकर्स एशोसिएन, प्याब्सन, एनप्याब्सन, हिसानसँग अब सहकार्य गरेर अघि बढ्छौं ।’ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गर्नुपर्ने गरी आफूले प्रस्ताव गरेको सिलवालले सुनाए । उनले भने,‘उहाँहरुबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’

सिलवालले आफूले नेपालमा भएका सबै संघ तथा संस्थालाई यसअघि गरेका काम र अब गर्ने योजनासहित निर्देशन दिएको पनि सुनाए । उनकाअनुसार नेपालमा १५६ वटा संघ–संस्थाहरु छन् । उनले भने,‘मैले तीनपटक पत्र काटिसकें । तीन वर्ष अघिको कामको उपलब्धि र अब यो वर्षको उद्देश्य राखेर जवाफ पठाउन भनेको थिएँ । तर, अहिलेसम्म ७० वटा संघ–संस्थाले मात्रै जवाफ फर्काए, बाँकी ८६ वटाले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । मैले अन्तिम चेतावनी दिएको छु । अब पनि कुनै जवाफ नआए, म विकल्पमा लाग्छु । क्रियाशील नभएका संघलाई क्रियाशील बनाउछु । यदि क्रियाशील नभए नयाँ संघ बनाएर गति दिन्छु ।’

नेपालको खुलकुद क्षेत्रले क्रमिकरुपमा सुधार र छलाङ गर्दै अघि बढेको पनि उनले सुनाए । उनले भने,‘खेललाई उत्पादनशील क्षेत्रको रुपमा अघि बढाउँछौं । फुटबलको कुरा गर्दा अब हामी लिग खेल सुरु गर्दैछौं । यही २८ गतेबाट लिग सुरु गर्छौं । क्रिकेट, भलिबलको पनि लिग खेलाउँछौं । व्यवसायिक घरानासँग लिगको लागि कुरा राखेका छौं । खेलाडीको जीवनस्तर उकास्ने र वृद्धि गर्नेगरि हामी अघि बढ्छौं ।’ खेलमै लागेको कारण खेलाडीहरुलाई अभिभावकले बिग्रिए भन्ने वातावरणको अब अन्त्य हुने पनि उनले घोषणा गरे । उनले खेलाडी अब ग्रास–रुटबाटै उत्पादन गरिने पनि जानकारी दिए । उनले भने,‘यसको लागि पुसको अन्तिमबाट हामीले १६ वर्ष मुनिको राष्ट्रपति र उपराष्ट्रपति कपको आयोजना गर्दैछौं । जिल्ला, प्रदेश हुँदै संघमा खेलाडी ल्याउँछौं । त्यसपछि राम्रो खेलाडीलाई चयन गर्नको लागि ‘ट्यालेन्ट–हन्ट’को पनि आयोजना गर्छौं ।’ त्यतिमात्रै नभएर उनले खेलाडीहरुको अब रजिष्ट्रेशन पनि गरिने बताए । उनले भने,‘उनीहरुको सिभी, बायोडाटा अनलाइनमार्फत् नै हेर्न मिल्ने गरी राखिन्छ ।’ त्यस्तै, उनले खेलाडी, प्रशिक्षक तथा खेलसम्बद्ध व्यक्तिहरुको सुविधाको लागि दरशथ रंगशाला परिसमा सुविधासम्पन्न ‘फिजिकल–सेन्टर’ बनाइने महत्वकांक्षी घोषणा गरे । उनले भने,‘हामीले बनाउने फिजिकल सेन्टरमा साउना, जाकुजी, जुम्बा, आइस सेन्टरसम्मको सुविधा प्रदान गर्छौं ।’

त्यस्तै, उनले अहिले रहेको हेल्थ–सेन्टरमा पाँच करोडको अत्यावाश्यक आधुनिक उपकरण तथा सामग्री भित्र्याएको पनि जनाए । उनले भने,‘यसले उपचारको लागि राम्रो व्यवस्थापन गर्छ । खेलाडी, प्रशिक्षक र खेलपत्रकारहरुलाई विशेष सुविधा दिनेछौं । कतिपयलाई निशुल्क र कतिपयलाई अत्यधिक कममा सेवा दिन्छौं ।’ आगामी एक वर्षभित्र खेलकुदको आफ्नै बुलेटिन निकाल्ने र खेलसम्बन्धी कार्यक्रम एफएम र टिभीबाट प्रशारण गरिने पनि उनले जनाए ।

आगामी चार वर्षभित्र ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने पनि उनले घोषणा गरे । उनले भने,‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनबाट गण्डकी प्रदेशमा आयोजना गर्दैछौं । तीन महिना अघि नै न्यूनतम आधारभूत संरचना पूरा गरिसक्छौं ।’ उनले आफूले कर्मचारीको स्थायित्व, सुशासन र पारदर्शीता अपनाउने पनि बताए ।

उनले सागमा भएको सम्पूर्ण खर्चको हिसाबकिताब आफूले ९० दिनभित्र सबै बाहिर ल्याउँछु भनेर सार्वजनिक प्रतिबद्धता जनाइसकेको बताउँदै त्यो भन्दा पहिले नै सार्वजनिक गर्ने बताए । उनले भने,‘सबै हिसाबकिताब म तपाइँहरुलाई जानकारी गराउँछु ।’ सागमा पदक जित्ने खेलाडीहरुलाई भोलि विहान ११ बजे दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने पनि सिलवालले जानकारी दिए । उनले पदकधारीले कसले कति पुरस्कार पाउने भनेर सोधिएको सवालमा भने,‘एक स्वर्ण जित्नेले ९ लाख पाउनुहुन्छ । एकभन्दा बढि स्वर्ण जित्नेले ११ लाखको दरले पाउनुहुन्छ । गौरिका सिंहले ११ लाखको दरले करिब ५९ लाख पाउनुहुन्छ । यसमा द्धिविधा हुनुपर्ने विषय छैन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>