चितवन विशेष

भरतपुरको दीपज्योति र अभिवृद्धि सहकारीबीच एकीकरण

Banner

भरतपुर, भदौं १९-

भरतपुरमा रहेका दुई सहकारी संस्थाबीच आज एकीकरण भएको छ ।

भरतपुर महनगरपालिका–११ मा रहेको दीपज्योति बचत तथा ऋण सहकारी र भरतपुर–१० मा रहेका अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो ।

दुवै संस्थाले आज (बिहीबार) जारी गरेको संयुक्त विज्ञप्तिमा भदौ २१ गते शनिबार दुवै संस्थाको संयुक्त साधारणसभाबाट एकीकरणको घोषणा गरिने उल्लेख छ । त्यस लगत्तै असोज ५ गतेबाट दुवै संस्थाको संयुक्त कारोबार हुने विज्ञप्तिमा जनाइएको छ ।

दीपज्योतिका अध्यक्ष भोला शिवाकोटी र अभिवृद्धिका अध्यक्ष तुल्सीराम आचार्यद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा संस्था एकीकरण गर्ने कार्यलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा सेयर सदस्य संख्या पाँच हजार पु¥याउने जनाइएको छ । घरायसी खर्च टार्नको लागि सुरु भएको दीपज्योति अहिले आएर मध्यमस्तरको उत्पादनमूलक कार्य, रोजगारीको सिर्जना, औद्योगिकरणको लागि प्रोत्साहन जस्ता वित्तिय कारोबारबाट समृद्ध समाज निर्माण गर्न सक्षम भएको अध्यक्ष शिवाकोटीले बताए । पेसामा रहेर वा निवृत्त भएर पनि समाजप्रतिको दायित्व सम्झेर सेवा गर्ने चाहना भएका सञ्चालक सदस्यहरु, सामाजिक अगुवाहरुले यी संस्थाहरुको नेतृत्व गर्ने चाहना गर्नु यी संस्थाको शक्ति भएको भन्दै यस्तो शक्तिलाई एकीकृत संस्थामा संलग्न गराएर एउटा क्षेत्रमा धेरै साकोस, दोहोरो सदस्यता जस्ता अनावश्यक झन्झटलाई अन्त्य गर्नु एकीकरण अभियानको उद्देश्य रहेको उनको भनाइ छ ।

दीपज्योतिमा हालसम्म दुई हजार २६७ जना र अभिवृद्धिमा ७२९ जना सेयर सदस्य रहेका छन् । दीपज्योतिको शेयर पूँजि तीन करोड ४३ लाख ६३ हजार, निक्षेप २७ करोड ७० लाख ८० हजार ५७४, ऋण प्रवाह २६ करोड ७१ लाख ६७ हजार २३४ रहेको छ । त्यसैगरी अभिवृद्धिको सेयर पूँजि एक करोड ३६ लाख २२ हजार, निक्षेप चार करोड ८२ लाख ७८ हजार ८७६ र ऋण प्रवाह पाँच करोड ६८ लाख ८८ हजार १०५ रहेको छ ।  दुवै संस्था एकीकरणसँगै संस्थाको कार्यक्षेत्र भरतपुर महानगरपालिका वडा नं. १ देखि १२ सम्म र वडा नं. १५, १६ र २९ रहेको छ भने रत्ननगर नगरपालिका वडा नं. १ देखि १३ सम्म रहने छ । दुवै संस्थाको एकीकरण पश्चात् भरतपुर महानगरपालिका वडा नं. ११ दीपज्योति चोकमा मुख्य कार्यालयसँगै हाल अभिवृद्धि रहेको भरतपुर–१० सिनर्जी रोड, गत वर्ष दीपज्योतिसँग एकीकरण भएको गौरवमय बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भएको ठाउँ भरतपुर ११ गोर्खाली टोल र रत्ननगरको भानुचोकमा सेवा केन्द्र मार्फत् सेवाप्रवाह हुने विज्ञप्तिमा जनाइएको छ ।

विसं २०७४ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र नेपाल सरकारको सहकारी विभागद्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्राण्ड प्राप्त गरेको दीपज्योतिसँग गतवर्ष भरतपुर ११ कै गौरवमय सहकारी एकीकरण भएको थियो । ‘पूर्ण व्यवसायिक, सक्षम तथा सुरक्षित वित्तिय सहकारी’ भन्ने ध्येयका साथ अगाडि बढिरहेको दीपज्योतिले सहज, सुलभ ढंगबाट ऋण प्रवाह गरी धेरै सदस्यहरुलाई आफ्नो पेसा व्यवसाय मार्फत् आर्थिक उपार्जन गर्न सक्षम तुल्याएको दाबी गरिएको छ । सहकारीको जन्मभूमि चितवनमा विसं २०५१ माघ ७ गते स्थापना भएको दीपज्योति २५ औं वर्षको यात्रा क्रममा छ भने अभिवृद्धि भरतपुर १० मा विसं. २०६९ सालमा स्थापना भएको थियो । जिल्लामा सहकारीकर्मी उत्पादन गर्ने संस्थाका रुपमा दीपज्योतिलाई लिने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>