धार्मिक/सांस्कृतिक

मिथिला क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक लोकनाच लोप हुँदै

Banner
वीरगञ्ज, जेठ २७ –
कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन् ।
मोबाइल फोनको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्रचीन लोकनाच राजा सलहेस, शितवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर बनको सुन्दर फूल, अल्लाह रुदल, गुगली घाट, साँमाचकेवा, कमला मैयाँजस्ता नाच लोप हुन थालेका हुन् ।
यस्तै जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् । लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन् ।
बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाका नाच लोप हुन थालेका सुनाउँदै १० वर्षको उमेरदेखि नाच गर्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ६५ वर्षीय गोसाई राय भन्नुहुन्छ, “नाच कम्पनी बन्द हुन थालेपछि आफूहरु बेरोजगार भएका छौँ ।”
पहिला प्रतिष्ठाका लागि भए पनि ठूलो रकम खर्चेर ग्रामिण क्षेत्रमा लोकनाच गराइने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाच मण्डली खोले, तर दुर्भाग्य भन्नुप¥यो कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुप¥यो ।”
केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक रु पाँच÷सात लाखभन्दा बढी आम्दानी हुने गरेको स्मरण गर्दै अर्का नाचका कलाकार फनिराम भन्नुहुन्छ, “कुनै बेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो, तर अहिले अब यी मौलिक नाच लोप हुदै गएका छन् ।” नाच कम्पनी बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकार रोजगारीका लागि मलेसिया, साउदी कतारलगायतका खाडी मुलुक तथा छिमेकी देश भारततर्फ पलायन हुन थालेको उहाँको भनाइ छ ।
नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथी रागेजारीका लागि भारतको पञ्जाब र लुधियाना गइसकेकाले आफूले पनि भारततिरै जाने सोच बनाएको सिरहाको पोखरभिण्डाका श्रवण सदा बताउनुहुन्छ ।
“मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोकनाचका कम्पनी विस्थापित हुन थालेका छन्”, कुनै बेला नाँच कम्पनीको जिम्मेवारी बहन गरिसकेका सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ निवासी लोचन राम भन्नुहुन्छ, “कुनै बेला अत्यन्तै लोकप्रिय रहेको ऐतिहासिक नाच अहिले लोप हुन थालेछन्, त्यसका कारण सिरहामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भइसकेका छन् ।”
विगतमा ठूलो नाम कमाएका नाच कम्पनी बन्द भएपछि त्यसमा संलग्न कलाकार बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका छन् । मिथिला क्षेत्रका ग्रामिण क्षेत्रमा लोकप्रिय रहेका यस्ता लोकनाच तत्कालीन सशस्त्र द्वन्द्वकालमा बढी प्रभावित भएको र त्यसयता निरन्तररुपमा विस्थापित हुनेक्रम जारी रहेको कालाकारहरु बताउँछन् ।
“खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोकनाच गराउने परम्परा रहेकामा पछिल्लो समय करिब १० प्रतिशतजति विवाहका बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोकनाचको माग आउने गरेको छ”, सिरहाको अर्नामा गाउँपालिका–४ निवासी विन्दु सदा भन्नुहुन्छ, “वर्षमा एक÷दुई पटक मात्र लोकनाच हुने गरेकाले कलाकार रोजगारीको खोजीमा पलायन भएका छन् ।”
ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाच लोप हुन लागेकामा संस्कृतिविद्समेत चिन्तित बनेका छन् । संस्कृतिविद् पूर्वप्राध्यापक पिताम्वरलाल यादव भन्नुहुन्छ, “मिथिला क्षेत्रको संस्कृतिको धरोहरका रुपमा रहेका लोकनाच लोप हुनु दुः खद् कुरा हो ।” ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका लोकनाचको संरक्षणमा सरकारका तर्फबाट उचित कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।
मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पति भएका यस्ता लोकनाचको संरक्षण तथा सम्वद्र्धनमा ध्यान नदिए मिथिला क्षेत्रका संस्कृति हराउँदै जाने भएकाले सरकारले स्थानीय निकायमार्फत बजेट छुट्याउनुपर्ने माग कलाकारहरुको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>