अन्तर्राष्ट्रिय

प्रेमीले धोका दिएपछि टुक्राटुक्रा पारिदिने डाक्टर अपराधी: दुई देशका प्रहरीलाई झुक्याउँदै २२ वर्षदेखि फरार

Banner

जेठ,१९- 

कहानी हो केरलको कन्नुर सहरको । यहाँ ओमाना एडाडन नामकी युवती आफ्नो परिवारसँग बस्थिन् । बाल्यकालदेखि नै पढाइमा असाध्यै तीक्ष्ण । परिवारमा सबै पढे लेखेका थिए र राम्रो पदमा जागिर खान्थे । ओमानाको सपना थियो – ठुलो भएर डाक्टर बन्ने । यस्तै भयो पनि । ओमानाको यो सपना साँचो भयो र उनी आँखाको डाक्टर बनिन् ।

छोरी हुर्किएपछि घरका सदस्यले उनको विवाह डाक्टर राधाकृष्णनसँग गराइदिए जो बच्चाका डाक्टर थिए । विवाहपछि दुवैले आफ्नो एउटा क्लिनिक खोले । त्यो क्लिनिक निकै राम्रोसँग चल्यो पनि । यी दुईका दुई सन्तान पनि भए । परिवार निकै आनन्दले जीवनयापन गरिरहेको थियो । तर समय सधैँ एकनासको कहाँ रहन्छ र?

डाक्टर दम्पतीले क्लिनिकबाट धेरै पैसा कमाएका थिए । उनीहरूलाई आफ्नो घर पुरानो लाग्यो तसर्थ पुनर्निर्माण गर्ने सोचे । डाक्टर राधाकृष्णनले यसका लागि मान्छे खोज्न थाले । कन्नुर जिल्लामा नै उनका एक ठेकेदारसँग भेट भयो, जसले घरको निर्माण, पुनर्निर्माण गर्ने काम गर्दथे । उनको नाम थियो पी। मुरलीधरन ।

यसरी प्रेममा परिणत भयो दोस्ती

उनलाई घरमा बोलाइयो र काम सुरु गरियो । बच्चा सानै थिए, कामदारको भरमा मात्रै छोड्नु हुँदैन भनेर ओमाना घरमा नै बस्न थालिन् । उनी केही बेरका लागि मात्रै क्लिनिक जान्थिन् । यति बेला ओमाना र मुरलीधरबीच दोस्ती भयो । यी दुई घण्टौँसम्म कुराकानी गरेर बस्थे । बिस्तारै, यी दुईको दोस्ती प्रेममा परिणत भयो ।

मुरलीधरन पनि विवाहित थिए र उनका दुई सन्तान थिए । तर पनि उनले ओमानासँग अफेयर चलाए । घर पुनर्निर्माणको काम सिद्धिइसकेको थियो तर उनको ओमानाको घरमा आउजाउ चलिरहेकै थियो । यी दुईको सम्बन्धबारे डाक्टर राधाकृष्णनलाई शङ्का लाग्न थाल्यो । त्यसपछि उनले श्रीमतीलाई बच्चाका लागि भए पनि यसो नगर भनेर सम्झाए । उनले ‘तिमीले जे गरिरहेकी छौ, त्यसलाई अहिले नै रोक’ भने ।

श्रीमान् र बच्चालाई छोडेर अलग बस्न थालिन् ओमाना

श्रीमानले सम्झाउँदा पनि ओमाना मानिनन् किनभने उनी मुरलीधरनको प्रेममा पागल भइसकेकी थिइन् । उनलाई मुरलीधरन नै चाहिएको थियो । परिवारको उनलाई केही मतलब थिएन । नतिजा के भइदियो भने उनले मुरलीधरनका लागि श्रीमानसँग सम्बन्ध विच्छेद गरिन् । दुई सन्तानलाई श्रीमानको जिम्मा लगाएर उनी एक्लै बस्न थालिन् ।

अब मुरलीधरन र ओमाना खुलमखुल्ला घुम्थे, सँगै बस्थे । ओमानाले आफ्नो लागि नयाँ क्लिनिक पनि खोलिन् । तर बिस्तारै उनलाई लाग्यो कि समाजका मानिसले उनलाई अब त्यो इज्जत दिइरहेका छैनन् जुन पहिला दिन्थे । वास्तवमा, उनको सम्बन्ध विच्छेद र अफेयरबारे लगभग सबैलाई थाहा भइसकेको थियो । मानिसहरू उनको क्लिनिकमा जान पनि छोडिसकेका थिए ।

ओमानासँग प्रेम गर्दैनथे मुरलीधरन

ओमानाले त्यसपछि मुरलीधरनलाई विवाहका लागि सोधिन् । मुरलीधरनले यसका लागि आफूलाई समय चाहिने बताए । खासमा उनी ओमानासँग विवाह नै गर्न चाहँदैनथे । उनलाई त ओमानाको पैसा मात्रै चाहिएको थियो । उनले ओमानासँग पैसा मागिरहन्थे, उनले पनि कुनै प्रश्न बिना नै खुरुक्क पैसा दिन्थिन् ।

भारत छोडेर मलेसिया गइन् ओमाना

जब ओमानाको क्लिनिक चल्न छाड्यो तब उनले भारत नै छोड्ने निर्णय गरिन् । उनले अरू नै देश गएर क्लिनिक खोल्ने सोचिन् । ओमाना भारत छोडेर मलेसिया गइन् । त्यहाँ उनले आफ्नो आँखा क्लिनिक खोलिन् । त्यो निकै राम्रोसँग चल्यो । उनी त्यहाँ नै सेटल भइन् । तर उनी त्यति बेला पनि मुरलीको सम्पर्कमा थिइन् । त्यहाँबाट पनि पैसा पठाइरहन्थिन् ।

एक दिन उनले मुरलीलाई फोनमा मलेसिया आउन र विवाह गरेर त्यतै बस्न आग्रह गरिन् । कसैलाई शङ्का नहोस् भनेर नाम र पहिचान फेरेर विवाह गर्ने पनि उनले बताइन् । मुरली माने । पहिला ओमाना भारत गइन् । त्यसपछि यहाँ यी दुईले कोही चिनेको व्यक्तिमार्फत नक्कली पहिचान पत्र र पासपोर्ट बनाए ।

नक्कली पहिचान र पासपोर्ट बनाए

ओमानाले आफ्नो नाम अमिना भिन्डे अर्बुदला राखिन् । साथै मुरलीको नाम पनि फेरियो । त्यसपछि यी दुई मलेसिया गए । यहाँ दुई जना सँगै बस्न थाले । तर मुरलीलाई त पैसा मात्रै चाहिएको थियो । त्यसैले पैसाका लागि यी दुईबीच खटपट सुरु भयो । एक दिन रिसमा मुरली भारत फिर्ता भए ।

सुरु भयो ब्ल्याकमेलिङको सिलसिला

तर भारतमा उनको काम सबै रोकिइसकेको थियो । पैसाको अभाव हुन थालेको थियो । त्यसैले मुरलीले ओमानालाई फोन गरेर पैसा पठाइदिन भने । ओमानाले अस्वीकार गरिन्, त्यसपछि उनको ब्ल्याकमेलिङको सिलसिला सुरु भयो । पैसा नपठाए प्रहरीलाई सबैलाई भनिदिने र उनलाई जेल सजाय हुने धम्की दिए ।

ओमान यस्तो धम्की सुनेर असाध्यै दुःखी भइन् । उनी मुरलीलाई जति प्रेम गर्थिन्, त्योभन्दा बढी घृणा गर्न थालिन् किनभने मुरलीका लागि उनले आफ्ना श्रीमान्, बच्चा र देश पनि छोडेकी थिइन् । र अब त्यही मुरलीले उनलाई ब्ल्याकमेल गरिरहेका थिए । उनले बुझिसकेकी थिइन् कि मुरलीले उनलाई प्रेम गर्दैनथे ।

अपराधको सुरुवात

अनि त्यसपछि सुरु भयो अपराधको कहानी । वर्ष थियो सन् १९९६ । ओमानाले आफ्नो क्लिनिकबाट ७ जुलाईदेखि १४ जुलाई १९९६ सम्म छुट्टी लिइन् । ७ जुलाईमा ओमाना थिरुवनन्थपुरम पुगिन् । विमानस्थलबाट उनी सिधा आफ्नो भाइको घर पुगिन् । त्यहाँ उनले आफ्ना सबै बहुमूल्य गहना र ट्रली ब्याग राखिन् । त्यसपछि काम छ भन्दै त्यहाँबाट निस्किएर ऊटी पुगिन् । ऊटीमा उनले एक होटेलको कोठामा भाडामा लिइन्, त्यो पनि नक्कली नाम र ठेगाना भनेर ।

८ जुलाई सन् १९९६ मा डाक्टर ओमाना बजार गइन् र केही सामान किनिन् । जस्तै पोलिथिनका केही बन्डल र दुई सुटकेस । किनमेलपछि उनले अर्को होटेल बुक गरिन्, त्यो पनि तीन दिनका लागि । त्यसपछि उनले त्यहाँ मुरलीलाई बोलाइन् । ‘कसैलाई केही नभनी आउनु, मसँग दुई तीन दिन बस्नु । त्यसपछि पैसा लिएर जानु ।’ भनिन् ।

मुरली पनि माने र ९ जुलाई मुरली ऊटी पुगे । पहिलो रात यी दुईले सँगै बिताए । त्यसपछि १० जुलाईमा होटेलबाट कतै घुम्न निस्किए । ओमानाले एक रेलवे रिटायरिङ रुम पनि बुक गरेकी थिइन् । त्यहाँ दुई जनाले ती दुई सुटकेस राखे ।

विषालु इन्जेक्सन दिइन्

त्यसपछि यी दुई एउटा बारमा गए । ओमानाले मुरलीलाई त्यहाँ असाध्यै रक्सी खुवाइन् । यी दुई रेलवे रिटायरिङ रुममा पुग्दा मुरली असाध्यै मातेका थिए । ओमानाले त्यति बेला उनलाई ‘तिम्रो लागि मलेसियाबाट उपहार ल्याएको छु । यसलाई शरीरमा इन्जेक्ट गरेपछि पुरुष शक्ति चार गुणासम्म बढ्ने’ भन्दै औषधीको बोतल देखाइन् ।

मुरली यो कुरा सुनेपछि दङ्ग परे । त्यसपछि ओमानाले उनलाई औषधीको इन्जेक्सन लगाइदिइन् । औषधीको प्रभावले मुरली बेहास भए र केही बेरमा नै उनको मृत्यु भयो । त्यो कुनै औषधी थिएन, विष थियो ।

त्यसपछि ओमानाले मुरलीको शवलाई बाथरुममा लगेर थुप्रै टुक्रामा काटिन् । मासुका केही टुक्रा त उनले टोइलेटमा फ्लस गरिदिइन् । तर बाँकी भएका हड्डी र मासुको बन्दोबस्त गर्नु थियो ।

पहिलो होटेल छोडेर अर्को होटेल पुगिन् ओमाना

त्यसपछि ती हड्डी र मासुको टुक्रालाई उनले पोलिथिनमा राख्न सुरु गरिन् । त्यसपछि ती सबै पोलिथिनलाई उनले दुवै सुटकेसमा राखिन् । ११ जुलाईमा उनले रेलवे रिटायरिङ खाली गर्नुपर्ने थियो । उनले कोठा राम्रोसँग सफा गरिन् र सुटकेसमा धेरैभन्दा धेरै परफ्युम हालिन् । दुर्गन्ध नआओस् भनेर । त्यसपछि उनले ट्याक्सी बोलाइन् र त्यो होटेलमा पुगिन् जहाँ उनले पहिला नै कोठा लिएकी थिइन् ।

१२ जुलाईमा उनले यो कोठा पनि खाली गर्नुपर्ने थियो । तर त्यसअघि उनले शवको बन्दोबस्त गर्नुपर्ने थियो । उनले त्यो सुटकेसलाई कोडाइकनालको सुसाइड पोइन्टको मुनीबाट फ्याँकिदिने सोच बनाइन् । त्यहाँ धेरैले आत्महत्या गर्ने भएकोले कसैलाई कुनै शङ्का नहुने पनि ठानिन् । त्यसपछि ओमाना ट्याक्सी चढिन् र कोयम्बटुर पुगिन् ।

त्यहाँ उनले एउटा होटेल बुक गरिन् । त्यसपछि सुटकेसलाई ट्याक्सीमा राखेर कोडाइकनालको सुसाइड पोइन्टतर्फ जान थालिन् । बाटोमा सुटकेसबाट गन्ध आउन थालेपछि ड्राइभर राजाले उनलाई प्रश्न सोध्न थाले ।

ड्राइभरलाई योजनामा समावेश गराइन्

त्यसपछि ओमानाले ड्राइभरलाई पनि योजनामा समावेश गराउने योजना बनाइन् । उनले ड्राइभरलाई पैसाको लोभ देखाइन् र आफूलाई सहयोग गर्न भनिन् । पहिला त ड्राइभर डराए । त्यसपछि उनले सोचे कि महिला असाध्यै खुङ्खार छिन् त्यसैले उनलाई साथ नदिए उनले आफूलाई पनि मार्ने ठाने । त्यसैले उनले ओमानाको कुरा माने ।

यसरी उनी योजनामा समावेश भए । ओमाना अब ढुक्क थिइन् कि उनले अब शवलाई आरामसँग ठेगान लगाउन सक्नेछिन् । असाध्यै थाकेका कारण उनी ट्याक्सी भित्रै निदाइन् । केही बेरपछि गाडी रोकियो । ड्राइभर छिट्टै गाडीबाट निस्किए र भित्र शव छ भनेर चिच्याउन थाले । उनको आवाजले ओमानाको पनि निद्रा खलबलियो । उनले झ्यालबाट बाहिर हेर्दा उनको होस उड्यो । ट्याक्सी पुलिस थाना बाहिर थियो ।

ओमानाले स्विकारिन् आफ्नो अपराध

प्रहरीले तुरुन्त उनलाई पक्राउ गरेर ब्यागलाई पनि आफ्नो कब्जामा लियो । सोधपुछमा ओमानाले आफ्नो अपराध स्विकारिन् । अदालतमा उनलाई पेस गरियो । केस चल्यो । सन् २००१ मा ओमानाले जमानतका लागि याचिका दिइन् । अदालतले पनि उनलाई मन्जुरी दियो । तर त्यसपछि ओमाना फरार भइन् ।

सन् २००९ मा ओमानाले एक पटक आफ्नो छोरालाई फोन गरेकी थिइन् । त्यति बेला आफू मलेसियामा भएको उनले बताएकी थिइन् । भारत र मलेसिया दुवै देशका प्रहरीले उनलाई खोज्यो । तर उनी भेटिइनन् । त्यसपछि उनलाई भारतको मोस्ट वान्टेड क्रिमिनल घोषित गरियो । त्यसपछि अक्टोबर सन् २०१७ मा मलेसियामा एक महिलाले एक घरको छतबाट हाम फालेर आत्महत्या गरिन् भन्ने खबर आयो ।

आज पनि फरार छिन् ओमाना

महिला केरलकी थिइन् भन्ने खबर आयो । केरल प्रहरीलाई यसबारे सूचना दिइयो र यो खबर पत्रिकामा छापियो । मानिसलाई उनी ओमाना हुन् कि भन्ने भान भयो । तर एक महिलाले मृतक महिला उनकी बहिनी थिइन् भन्ने दाबी गरिन् । डिएनए परीक्षण गरियो । उक्त शव महिलाको बहिनीकै थियो भन्ने पुष्टि पनि भयो । तर ओमाना भने अहिलेसम्म पनि फरार छिन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>