समाचार

नक्कली शरणार्थी प्रकरण : थप एक प्रतिवादी पक्राउ, आज बयान लिने

Banner

काठमाडौं, जेठ १९–

नक्कली भुटानी शरणार्थी प्रकरणका एकजना फरार प्रतिवादी समातिएका छन्। गिरोहमा संलग्न हरिभक्त महर्जन पक्राउ परेका हुन्।

उनलाई बिहीबार नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। योसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका समातिने सदस्य १८ जना पुगेका छन्।

यसअघि पक्राउ परेकाहरुको जिल्ला अदालत काठमाडौंमा बयान लिने क्रम जारी छ। पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्वसभासद आङ्टावा शेर्पा र हज समितिका अध्यक्ष शमसेर मियाँको बयान बिहीबार सकिएको छ। उनीहरुसहित बिहीबारसम्म १५ जनाको बयान सकिएको छ।

आफ्नो पालोमा बयान दिन बहाना बनाउँदै आएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान आज हुनेछ। यसअघि खाण बयान दिन मंगलबार अदालत पुगेका थिए तर उनले बयान दिएका थिएनन्।

खाणसहित सक्कली भुटानी शरणार्थीका नेता एवं मानवअधिकारकर्मी टेकनाथ रिजाल र महर्जनको बयान आज हुने जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले आज शुक्रबार ३ जनाको बयान हुने भएपछि थुनछेक बहस आइतबार मात्रै सुरु हुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>