अन्तर्राष्ट्रिय

खसेको फोन निकाल्न भारतीय अधिकारीले पूरै जलाशय खाली गर्न लगाए

Banner

छत्तिसगढ, जेठ १३–

आफ्नो फोन निकाल्न पूरै जलाशय सुकाउन निर्देशन दिने भारतका एक सरकारी अधिकारीलाई निलम्बन गरिएको छ । राजेश विश्वासको मोबाइल फोन सेल्फी लिने क्रममा जलाशयमा खसेको थियो ।

बाँधबाट लाखौँ लिटर पानी खाली गर्न तीन दिन लागेको थियो । जब फोन फेला पर्‍यो, त्यो पानी पसेर काम नलाग्ने अवस्थामा थियो । विश्वासले उक्त फोनमा संवेदनशील सरकारी दस्ताबेज रहेकाले त्यसलाई निकाल्न आवश्यक रहेको स्पष्टीकरण दिएका छन् । यद्यपि, उनीमाथि आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

फुड इन्स्पेक्टर रहेका विश्वासले छत्तिसगढमा रहेको खेरकट्टा जलाशयमा आइतबार करिब १ लाख भारु पर्ने आफ्नो समसङ फोन खसाएका थिए । स्थानीय गोताखोरले फोन फेला नपारेपछि उनले डिजेल पम्प ल्याएर पानी सुनाउन लगाएको भारतीय मिडियाले जनाएका छन् ।

आफूलाई सो पानी नजिकको नहर पठाउने मौखिक अनुमति रहेको र यसले किसानलाई नै फाइदा पुग्ने दाबी विश्वासले गरेका छन् । तीन दिनसम्म पम्प चलाउँदा ४ लाख ४० हजार ग्यालन पानी खाली गरिएको थियो । उक्त पानीले ६ वर्ग किलोमिटर क्षेत्रफललाई सिँचाइ गर्न पुग्ने बताइएको छ ।

उजुरीपछि मात्र उनको काम बन्द गरिएको थियो । स्थानीय अधिकारी प्रियङ्का शुक्लाले भनिन्, ‘उनलाई छानबिन अवधिभरका लागि निलम्बन गरिएको छ । पानीजस्तो महत्त्वपूर्ण स्रोतलाई यसरी खेर फाल्न पाइँदैन ।’

बीबीसी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>