समाज
दुर्घटनामा शिक्षिकाको मृत्यु भएपछि क्षतिपूर्ति माग गर्दै आफन्तले अवरूद्ध गरे सडक

दाङ, जेठ १२-
तुलसीपुर सवारी दुर्घटनामा शिक्षिका सीता लम्सालको मृत्यु भएपछि उनका आफन्तले तुलसीपुरको पुल्चोक सडक बन्द गराएका छन्। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाकी ३७ वर्षीया शिक्षिका लम्सालको मृत्यु भएपछि उनीहरूले उचित क्षतिपूर्तिको माग गर्दै बिहान पौने ९ बजेदेखि सडक बन्द गराएका हुन् । सीता शान्तिनगर गाउँपालिका–७ तुलसीपुरस्थित माध्यमिक विद्यालय धनौरीमा प्राथमिक तहकी शिक्षिक थिइन।
तुलसीपुर बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्तोष आचार्यका अनुसार शनिबार स्कुटर चलाएर विद्यालय जाँदै गरेकी उनलाई हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको जीपले दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपालगञ्ज नरसिंह कलेजमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको थियो।
मृतकको शब तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ। उचित क्षतिपूर्ति नतोकिएसम्म सीताका आफन्तले पोष्टमर्टम गर्न सहमत नभएपछि प्रहरीले दुबै पक्षलाई राखेर वार्ता गरको छ।
वार्तामार्फत समस्या समाधान गराई मृतकको पोष्टमर्टमको प्रक्रिया अगाडि बढाउने र अवरूद्ध सडक खुलाइने प्रहरी निरीक्षक केसीले बताए।
सडक खण्ड बन्द भएपछि सवारी साधन र यात्रु सडकमै रोकिएका छन्।