समाचार

बेल्जियममा नेपाल फेस्टिभल हुँदै

Banner

काठमाडौँ, चैत १८

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति (एनसीसी) बेल्जियमको आयोजनामा आगामी अप्रिल १५ मा १५ औँ नेपाल फेस्टिभल हुने भएको छ ।

बेल्जियमको लुभेन सहरमा नेपाल राजदूतावासका साथसाथै स्थानीय लुभेन नगरपालिका तथा नेपाली संघसंस्थासँगको सहकार्यमा फेस्टिभल हुन लागेको एनआरएनए बेल्जियमको उपाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थराज धमलाले शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए ।

फेस्टिभलमा नेपाली डान्स, मौलिक खानेकुरा, नेपाली उत्पादनसहित नेपालबारे प्रमोसनका सामग्री प्रस्तुत गरिनेछ । नेपाली समुदायका ३ हजार र बेल्जियमसहितका विदेशी नागरिक ३ हजार गरी करिब ६ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको एक दिने फेस्टिभलका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रममा चर्चित गायक धिरज राईसहित स्थानीय कलाकार नारायण धिताल, बज्र ब्यान्डका लाहुरे कान्छालगायतको पनि प्रस्तुति हुनेछ भने २५ वटा ग्रुप डान्स पनि हुने धमलाले जानकारी दिए ।

उनका अनुसार बेल्जियमका नेपाली समाजलाई एकीकृत गर्दै स्थानीय समाजसँग घुलमिल गराउने, स्थानीय समूदायलाई नेपालका बारेमा जानकारी गराइ पर्यटन प्रवर्द्धन गर्ने, नेपाली उत्पादनलाई परिचित गराउँदै व्यापार प्रवर्द्धनमा जोड दिने जस्ता उद्देश्य कार्यक्रमको रहेको छ ।

यस्तै गैरआवासीय नेपालीका दोस्रो र तेस्रो पुस्ताका बालबालिकालाई नेपाली कला र संस्कृतिसँग जोड्ने उद्देश्य पनि कार्यक्रमले राखेको उनले बताए । कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले कार्यक्रम सफल बनाउन बेल्जियमका स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नेदेखि विभिन्न प्रचारात्मक कार्यक्रम गरिएको बताए ।

कार्यक्रम सम्पन्न गर्न ३० देखि ३२ हजार युरो खर्च हुने अनुमान गरिएको छ । त्यसमा राजदूतावाससहित नेपाली संघसंस्था र लुभेन नगरपालिकाको सहयोग रहेको छ । कार्यक्रममा एनआरएनएका अध्यक्ष बद्री केसी, उपमहासचिव रामशरण सिम्खडासहित एनआरएनए अभियान्ताहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>