पत्रपत्रिका

६ वर्षदेखि ‘भीआईपी’ सडकको बिजोग

Banner

ललितपुर, चैत १२–

ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरु भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् । तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन । बाटो निर्माण हुनुभन्दा पछि शुरु भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुगेका छन्। चार दिनअघि उनी दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुगेका थिए । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गरेका छन्। तर उपलब्धि हुन सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताइन् । उनले भनिन्– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छौं ।’

हरेक साँझ बिहान सोही बाटो हिँड्ने गरेकी सांसद डा कार्कीले शुरुमा ठेकेदार र अहिले सडकको कारण समस्या भएको बताइन्। उनले भनिन्– ‘समस्यै समस्या थियो, अहिले समाधान भइसकेको छ । सरकारले करिब २ करोड रुपियाँ बजेट विनियोजन गरेर पानीको पाइपलाइनको काम शुरु गरेको छ । त्यसलगत्तै सडकको काम शुरु हुन्छ ।’ उनले सडक निर्माणको विषयमा दबाब दिन आफूले सडक विभाग, मन्त्रालय, सिडियो र स्थानीय तहलाई निरन्तर दबाब जारी राखेको बताइन् ।

सडक कालोपत्रे नगर्दा स्थानीयलगायत आम सर्वसाधारणले ठूलो समस्या भोगिरहेका छन् । ‘हामीले पटकपटक अनुरोध गरिरहेका छौं, बाटोमा हिँड्न सक्ने अवस्था छैन, अब बनाउँछौं भन्छन् तर कहिले बन्छ भन्न सक्ने अवस्थामा छैन’ –ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले भने । ३ किलोमिटर उक्त सडक भत्काएर बनाउन थालेको वर्षौ बित्दा पनि कसैले बोल्न सकेका छैनन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>