स्वास्थ्य

स्वाथ्यमन्त्री गिरी सहितको टोलीले गरे बाँकेको दादुरा प्रकोप क्षेत्रको अवलोकन

Banner

रुपन्देही, माघ ९-

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बाँकेको दादुरा प्रकोप क्षेत्रको अवलोकन गरेका छन् ।

केही सातायता दादुरा प्रकोप फैलिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपासको क्षेत्रको मन्त्री गिरी, स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलसहितको टोलीले अवलोकन गरेका हुन् ।

उनीहरु विभिन्न स्वास्थ्य सस्थामा पुगेर दादुरा विरुद्धको जारी खोप अभियानको पनि अवलोकन गरेका छन् । साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको छ । बाँकेबाट फैलिएको दादुरा हाल सुर्खेतमा समेत पुगेको छ ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा-रूबेलाविरूद्धको खोप अभियान सुरु गरिएको छ । हाल नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाइएको छ ।

यसैबीच बाँकेको भेरी अस्पताल नेपालगञ्जमा रहेको डायलाइसिस सेवालाई थप बिस्तार गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरीले भेरी अस्पतालमा रहेको डायलाइसिस कक्षको उद्घाटन गरेपछि बिरामीलाई डायलाइसिस गर्न सहज हुने भएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>