Breaking News

चितवन महोत्सवमा नेपाली उत्पादनप्रति दर्शकको आकर्षण बढ्यो, एपदेखि सवारीसाधनसम्मको कारोबार

Banner

पुजा ढकाल\निर्मल पौडेल

चितवन, माघ १–

चितवन महोत्सव परिसरमा रहेको नेपाली उत्पादनसँग सम्बन्धित ‘मेड इन नेपाल एक्स्पो –२०७९’ मा हरेक दिन दर्शकको आकर्षण बढ्दै गएको छ ।

नेपालमा बनेको सामानको प्रवद्र्धन गर्न राखिएको यस एक्स्पोमा माघे संक्रान्तिको अवसरमा पनि दर्शकहरुको संख्या दैनिक बढ्दै गएको हो ।

२३ वटा स्टल रहेको यस एक्सपोमा हिजो शनिबार ५० हजार बढी र आज संक्रन्तिको दिनमा झण्डै ७० हजारले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘हिजो शनिबारको तुलनामा आज आइतबार माघेसंक्रान्ति भएकोले झन् धेरै दर्शकको भीड लागेको छ । ’ मेड इन नेपाल एक्स्पोे तेस्रो पटक चितवन महोत्सवमा राखिएको हो । एक्स्पोमा नेपालमै बनेका किनारा सामान, लाइफ केयरका सामान, विद्युतीय मोटरसाइकल, जुत्ता, चप्पल, भाडा, कार्पेट, बुटिङका कपडा, मोबाइल एपलगायत विभिन्न प्रकारको सामान राखिएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा बनेको सामानको प्रवद्र्धन गर्न राखिएको यस एक्स्पोलाई अवलोकन गर्ने दर्शकको संख्या दैनिक बढ्दै गएको छ । एक्स्पोमा अवलोकन गर्ने दर्शकबाट पनि राम्रै प्रतिक्रिया आउने गरेको छ ।’

एक्स्पोमा राखिएको विद्युतीय यात्री मोटरसाइकल सफारीका अनिस खड्कीले यात्री मोटरसाइकल नेपालको सडकका लागि भनेर युरोपको डिजाइन तथा मोडल अनुसार नेपालमा बनाइएको एक विद्युतीय मोटरसाइकल भएको जानकारी दिए । उनको अनुसार यात्रीले ‘पि जिरो’ र ‘पि एक’ गरी दुई प्रकारको मोटरसाइकल बजारमा ल्याएको छ । जसमध्ये महोत्सव परिसरभित्र राखिएको ‘पि एक’ हो । यस मोटरसाइकललाई सहजताको हिसाबले महिला पुरुष दुवैले चलाउन सक्ने उनले नारायणी अनलाइनलाई जानकारी दिए । उनी भन्छन्, ‘अहिले नेपालमा विद्युतीय स्कुटर धेरै बनेका छन् र मोटरसाइकल भने केही मात्रै बनेका छन् । जसको पेट्रोलसँग तुलना गर्दा ८०–१०० सीसी बराबर हुन्छ भने हाम्रो यस मोटरसाइकलमा भने २५० सीसी बराबर छ जुन एकदमै शक्तिशाली हुन्छ ।’

त्यस्तै एक पटक पूरा चार्ज गरेपछि ११० किलोमिटर चल्ने यस मोटरसाइकलको बजार मूल्य पाँच लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको उनले बताए । उनका अनुसार ११० रेन्ज रहेको यस मोटरसाइकललाई घरमै फूल चार्ज गर्दा दुई घण्टा १० मिनेट लाग्छ र तीन युनिट विद्युत खपत हुन्छ । तर, फास्ट चार्जिङ स्टेशनमा भने ३० मिनेट चार्ज गर्दा ८० प्रतिशत चार्ज हुन्छ । अहिले नेपालमा फास्ट चार्जका १० स्टेशन छन् । खड्कीले दिएको जानकारी अनुसार महोत्सवमा राखिएको यी दुवै मोटरसाइकललाई काठमाडौँबाट चलाएर चितवनमा प्रदर्शनका लागि ल्याइएको हो ।

उनी भन्छन्, ‘हामीले यात्री मोटरसाइकल मात्रै नभएर ईको सिस्टम नै बनाउन खोजेका छौँ, जसमा मोबाइल एप्लिकेसन जोडेर मोटरसाइकल कहाँ छ, फास्ट चार्जिङ स्टेशन कहाँ छ र खाली छ÷छैन भन्ने पत्ता लगाउन सकिन्छ ।’ ब्याट्री तथा मोटरमा पाँच वर्ष वारेन्टी रहेको यस मोटरसाइकलको टायर, चेन तथा ब्रेक भने अरु मोटरसाइकलको सरह र्फेन मिल्ने उनले जानकारी दिए ।
पछिल्लो समय मानिस नयाँ–नयाँ फेसन गर्न रुचाउने भन्दै डिजाइनर, र्डेस, गाउन, लहंगा एन्ड सारी सेट फर रेन्ट एन्ड सेलकी अनुस्का रानाले यहाँ लेडिज, जेन्स बच्चाको सबै प्रकारको पोशाक भाडामा पाइने तथा आफ्नो कपडा पनि भाडामा राख्न सकिने जानकारी दिइन् । उनको अनुसार मानिसमा कपडा भाडामा लानु पर्छ भन्ने धारणाको विकास भएकै कारण आजकाल धेरैले पोशाक भाडामा लैजान थालेका छन् । उनी भन्छिन्, ‘हाम्रोमा बेबी सावर, पास्नी, ब्राइडल, रेसेप्सन, मेहेन्दी ड्रेस तथा केटाको मोदी कोट, दौरा सुरुवाल, सेट कुर्थी रेन्टमा तथा अडरमा पाइन्छ ।’ कपडा अनुसार भाडा तय गरिएको उनले जानकारी दिइन् । यसरी कपडा रेन्टमा लैजादा पैसा सँगसँगै समयको समेत बचत हुने उनको भनाइ छ । त्यस्तै उनले ग्राहकको अर्डर अनुसार नयाँनयाँ डिजाइनको ड्रेस बनाइदँै आएकोले पछिल्लो समय राम्रा प्रतिक्रिया आउने गरेको जानकारी दिइन् ।

महोत्सव परिसरभित्रै एक्स्पोमा राखिएको कारोबार एप एक डिजिटल एप हो । यस एपबाट सबै प्रकारको कारोबार गर्न सकिन्छ । आफूहरुले साना तथा मजौला व्यापारीलाई मध्य नजर गरेर एप बनाएको व्यवसायीहरुले बताए । यस एप मार्फत् उधारो कारोबार गरेका ग्राहकलाई रिमाइन्डरमा सेट गरेर तपाइँको यती रकम तिर्न बाँकी छ भनेर मेसेज तथा नोटीफिकेसन पठाउन सकिन्छ । त्यस्तै नेपाली तथा अंग्रेजी दुवै भाषामा रहेको यस एपलाई प्रयोगकर्ताले सहज तरिकाले अनलाइन तथा अफलाइन दुवै माध्यममा चलाउन सक्ने व्यवसायीको विचार छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>