चितवन विशेष
चितवनको चर्चित दासढुंगा काण्डको छानबिन संयोजक बनेका पूर्वन्यायाधीश अनिलको निधन

चितवन, मंसिर २१-
चितवनको दासढुंगा काण्डको छानबिन संयोजक बनेका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ ।
काठमाडौँको बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए ।
जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए । उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक थिए । तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।
चितवनको नारायणगढ–मुग्लिन–सडकखण्डको दासढुंगामा जिप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो । यो सवारी चालक अमर लामाको पनि हत्या भए पनि यो घटना अझैसम्म पनि रहस्यमय नै छ ।