मनोरञ्जन
चलचित्र पत्रकार डब्बु क्षेत्रीले ल्याए नयाँ गीत ‘दूर सागर’

काठमाडौं, मंसिर २०
गायक तथा संगीतकार राज सागरसँग गीतकार डब्बु क्षत्रीले यो नयाँ गीत ‘दूर सागर’ को भिडियो दर्शकमाझ ल्याएका छन् ।
क्षेत्रीले यो आफ्नो गीतलाई बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरेका हुन् । क्षेत्री नेपालको अग्रज चलचित्र पत्रकार तथा चलचित्र निर्देशक हुन् ।
झरी श्रृंखलाको यो अर्को नयाँ गीत भएको गीतकार क्षेत्रीले बताएका छन् । डब्बुको यस अघि झरी श्रृंखलाअन्तर्गत गजल संग्रह झरी नै आएको छ । सो बाहेक उनका अरु पनि झरीसम्बन्धी गीतहरु छन् । आफूले हरेक वर्ष झरीसम्बन्धी गीत ल्याउने गरेको र २०७९ को लागि आफूले झरी श्रंखलाको यो नयाँ गीत यतिबेला ल्याएको पनि गीतकार डब्बु क्षेत्रीले बताएका छन् ।
दूर सागरमा संगीत र स्वरराज सागरको रहेको छ । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई दीप घतानीले रेकर्ड तथा मिक्सिङ गरेका हुन् । जसमा शाहस शाक्यको संगीत संयोजन रहेको छ ।
पोखराको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको यो गीतको भिडियोमा प्रेममा धोका खाएर मधपानको लतमा लागेकी युवतीले आफ्नो पूर्वप्रेमी र उसको प्रेमिकासँग लिएको बदलाको कथा प्रस्तुत गरिएको छ । नशाले खराब परिणाम दिन्छ भन्ने सन्देश यो गीतको भिडियोले दिएको छ ।
गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारतीसँगै मोडलहरु मिलन दाहाल, सृष्टी कडरिया, आकाश दाहाल र निश्चल बिक्रम पौडेलले अभिनय गरेका छन् । भिडियोमा सरिताले मदिराको लतमा फसेर अपराध गर्दै हिडेको युवतीको भूमिका निर्वाह गरेकी छन् । मिलन शंकरको छायांकन रहेको यो गीतको भिडियोलाई बीरेन्द्र भाट ‘बिपिन’ले सम्पादन तथा रंग संयोजन गरेका हुन् ।