देश/प्रदेश
किरियापुत्रीमाथि जातीय विभेद गर्ने तीन जनालाई कैद सजाय

कास्की, मंसिर २०–
किरियापुत्रीमाथि जातीय विभेद गर्ने तीन जनालाई जिल्ला अदालत कास्कीले कैद सजाय तोकेको छ। पोखराको बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद र ५० हजार जरिवाना गरिएको हो। किरियापुत्रीलाई जातीय विभेद गर्ने देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीले सजाय पाएका हुन्।
न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले जरिवानासँगै एक लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको सूचना अधिकारी निलप्रसाद पनेरूले बताए। उनीहरूले बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा दलितलाई बस्न नदिने भन्दै स्थानीय मोहन सुनारलाई रोकेका थिए।
मोहनका भाई सम्मरबहादुर सुनारको २०७६ चैत २३ गते दुबईमा निमोनियाका कारण मृत्यु भएको थियो। कोभिड–१९ महामारीका कारण सम्मरको शव ल्याउन नसकेपछि दुबईमै उनको दाहसंस्कार गरिएको थियो। पोखरामा दाजु मोहन, सम्मरका श्रीमती र कान्छा छोरा किरिया बस्न खोज्दा उनीहरूलाई अभियुक्तले धम्की समेत दिएका थिए।
ती अभियुक्तलाई जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन २०६८ अनुसार सजाय तोकिएको हो। जिल्ला अदालतबाट फैसला आएपछि न्यायको महशुस भएको पीडित मोहन सुनारले बताए।