राजनीति
रास्वपा मकवानपुरमा विवाद: सभापतिलाई कारबाही नगरे पार्टी छाडने कार्यकर्ताको चेतावनी

मकवानपुर, मंसिर १८-
राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाही गर्न माग गर्दै केन्द्रीय कार्यलयमा पत्रचार गरिएको छ । न्यौपानेमाथि चुनावमा कांग्रेसका नेतासँग सेटिङ गरेर आफ्नै पार्टीको उम्मेदवार हराएको नेता-कार्यकर्ताले आरोप लगाएका छन् ।
उनले समानुपातीक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारेर निर्वाचनको अन्तिम समयमा अन्य पार्टीको उम्मेदवारसँग भेट गराएर सेटिङ गरेको भन्दै उनलाई कारबाही गर्न माग गरिएको हो ।
त्यस्तै सभापति न्यौपानेलाई कारबाहीको माग गर्दै स्वतन्त्र पार्टीका वागमती कोषाध्यक्ष तथा मकवानपुर-१ का उम्मेदवारसमेत रहेका टाकाराज थापा ‘सुरेश’ नेतृत्वको टोलीले हस्ताक्षर अभियान चलाएको खुलेको छ । पार्टीका ४७ जना नेता-कार्यकर्ताले हस्ताक्षर गरेर मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाएका थिए ।
पत्रमा न्यौपानेलाई कारबाही नगरिए आफुहरुले पार्टी छाडने चेतावनी समेत दिईएको छ । न्यौपानलेले मकवानपुर २‘२’का उम्मेदवार एवम नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँसँग सेटिङ गरेको आफुहरुसँग प्रमाण समेत रहेको भन्दै यस्तो प्रवृत्तिले स्वतन्त्र पार्टीको मूल्य मान्यतामा असर परेको उनीहरुको दाबी छ ।