Breaking News
भरतपुर महानगरले यसरी बढाउँदैछ रामनगर खानेपानी आयोजना

चितवन, मंसिर १४–
भरतपुर महानगरपालिकाले रामनगरमा वृहत खानेपानी आयोजना अघि बढाएको छ । खानेपानीको समस्या विकराल बन्दै गएपछि महानगरले ठूलो परियोजना मार्फत यस क्षेत्रमा खानेपानी लैजान थालेको हो ।
एशियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले खानेपानी मन्त्रालय अन्तरगत एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत देशका ५ मुख्य शहरहरुमा खानेपानी वितरण तथा ढल व्यवस्थापनको काम अगाडि बढाएको छ । यस परियोजनामा भरतपुर महानगरपालिका समेत समेटिएको छ । यस आयोजना अन्तरगत हाल भारतीय कन्सटेन्टमार्फत डीपीआरको काम भइरहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
यस योजना अन्तरगत भरतपुरमा खानेपानी, शहरी ढल व्यवस्थापन, भूमीगत ढल र शहरी लेदोजन्य फोहोर व्यवस्थापनका कार्यहरु हुनेछन् । यस योजना मार्फत भरतपुरमा ३ अर्ब बराबरको खानेपनी व्यवस्थापनको काम हुने महानगर प्रमुख दाहालले बताइन् ।
‘रामनगरबासीलाई शुद्ध खानेपानी पिलाउने तयारी पहिल्यैदेखि गर्दै आइरहेका हौं, संघीय सरकारबाट नै ठूलो परियोजना परेकोले कामको प्रक्रिया अघि बढि सकेको छ’ मेयर दाहाले भनिन् ‘यस परियोजना चाडै सम्पन्न गर्ने र रामनगरबासीलाई सहज रुपमा खानेपानी पिलाउने हाम्रो योजना रहेको छ ।’
एशिया विकास बैंकको आर्थिक सहयोगमा निर्माण सुरु हुने आयोजनामा रामनगर खानेपानी योजना समेटिएको छ । यसले रामनगरको खानेपानी समस्यालाई दिगो समाधान दिने मेयर दाहालले बताइन् ।
भरतपुरमा यस बाहेक सघं, प्रदेश र स्थानीय सरकारका अरबौं बजेट बराबरका शारदानगर, दिव्यनगर, जखेडीमाई, चौकीडाडाँ लगायतका आयोजनाहरु संचालनमा आएका छन् र केही निर्माणाधिन अवस्थामा रहेको महानगरले जनाएको छ ।