चितवन विशेष

प्रवेश परीक्षा रोक्न माग गर्दै चितवनको कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

Banner

चितवन, मंसिर १४-

चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयमा कृषि संकायको प्रवेश परीक्षा रोक्न माग गर्दे विद्यार्थीले ताला लगाएका छन् ।

गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक र त्रुटिपूर्ण रहेको भन्दै विश्वविद्यालयका चार विद्यार्थी संगठन ताला लगाएर आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीले प्रवेश परीक्षामा सहभागी हुन तोकिएको न्यूनतम शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएका छन् । प्रमाणपत्र तहमा पहिले राखिएको ५० प्रतिशत प्राप्तांकलाई अहिले घटाएर ४५ प्रतिशत (२.४ जिपिएबाट घटाई २.२ जिपिए) कायम गरिएको छ । यो निजी कलेजमा विद्यार्थी बढाउन रचिएको षड्यन्त्र भएको विद्यार्थी नेताले बताएका छन् ।

विद्यार्थीले प्रवेश परीक्षाका लागि जारी सूचनाको बुँदा नम्बर १७ मा पनि आपत्ति जनाएका छन् । ‘कृषि पढ्न आवश्यक पर्ने अंग्रेजी, केमेस्ट्री, बायोलोजी, गणित र फिजिक्स विषय अध्ययन नगरेका विद्यार्थी पनि भर्ना हुन पाउने व्यवस्था गरिएको छ,’ नेविसंघका केन्द्रीय क्याम्पस समिति सभापति मिराज पौडेलले भने, ‘यस्तो व्यवस्थाले कृषि पढाइको गुणस्तर कता पुग्छ, नतिजा कस्तो निस्किएला ? प्रहरीमा भर्ना हुँदा पनि त मेडिकल पास, दौड पास हुनुपर्छ, तर विश्वविद्यालय पढ्न आउनेको प्रवेश परीक्षाअघिको पनि त मूल्यांकन होला नि ?’ स्नातक तहमा कृषि अध्ययन गर्न आवश्यक पर्ने विषयको बाध्यात्मक अवस्था कायम नै गर्नुपर्ने उनीहरूको माग छ ।

प्रवेश परीक्षाका लागि लिइने शुल्कमा पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रवेश परीक्षाका लागि उठाउने गरिएको प्रतिविद्यार्थी चार हजार शुल्क ज्यादै चर्को र अवैज्ञानिक भएको भनिएको छ । प्रत्येक संकायका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र सबैमा छुट्टाछुट्टै शुल्क लिइनु विद्यार्थीका लागि अन्यायपूर्ण भएको उनीहरूले जनाएका छन् । त्यसको समाधानका लागि ‘साझा प्रवेश परीक्षा’को माग उनीहरूले गरेका छन् ।

त्यसैगरी अन्योलपूर्ण र अवैज्ञानिक प्रवेश परीक्षाले कृषि विश्वविद्यालयको गुणस्तर र गरिमामा आँच पुगेको भन्दै विद्यार्थी संगठनले प्रवेश परीक्षा रोक्न माग गर्दा कृषि तथा वन विश्वविद्यालय कृषि संकायका डिन जयप्रकाश दत्त भने विद्यार्थीले नबुझेर यो समस्या आएको बताउँछन् । उनले विद्यार्थीसँग छलफलका लागि वार्ता कमिटी बनाएको बताए । विद्यार्थीलाई बुझाएर छलफल गरेपछि यो समस्या हल हुने उनको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>