Breaking News

रविले सुरु गरे चितवनमा श्रमदान अभियान, रामनगरबासीलाई पानी खुवाउने

Banner

चितवन, मंसिर १४–

भर्खरै सम्पन्न आमनिर्वाचनमा विजयी भएका कतिपय उम्मेदवारहरु बधाई खानमै व्यस्त छन् । तर चितवन क्षेत्र नं.२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिाने भने निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेलगत्तै जनताका स–साना समस्या समाधान गर्नतर्फ अग्रसर भएका छन् । उनले चितवनमा श्रमदान अभियानको सुरुवात गरेका छन् । भरतपुर महानगरपालिका–१ अन्तरगत पर्ने रामनगरका बासिन्दा शुद्ध पानी पिउन नपाएको वर्षौ भइसक्यो । सहज रुपमा पानी खान नपाएको समस्या थाहा पाएपछि सांसद लामिछाने त्यहाँको अवस्था बुझ्न मंगलबार रामनगरमा खानेपानी व्यवस्थापनका प्रतिनिधि र स्थानीयहरुसंग छलफल गरे । लगत्तै उनले आजदेखि श्रमदान अभियान सुरु गरे ।

रामनगरस्थित नारायणगढ–मुग्लिन सडक खण्ड छेउमै रहेको पुरानो पानी टंकी वरपर बुधबार सरसफाई गरिएको छ । सांसद लामिछाने आफै फिल्डमा उत्रिदै अभियानलाई अगाडि बढाएका थिए । झाडी फाड्दै गरेका लामिछानेले भने–‘मैले जनताको काम गर्छु भनेर राजनीतिमा होमिएको हुँ, त्यसैले जनताको समस्या समाधान गर्न फिल्डमा उत्रिएको हुँ ।’

कतिपयले लामिछानेले नीति निर्माण तहमा रहेर काम गर्नुपर्ने भन्दै उनको यस खाले कार्यको विरोध पनि गरिहेका छन् । तर लामिछाने भने त्यो विरोधको कुनै तुक नरहेको बताउँछन् । ‘मेरो जिम्मेवारी के हो भन्ने कुरा मलाई सबै थाहा छ, म नीति निर्माणको तहमा सोही अनुसार भूमिका खेल्छु, बाँकी समयमा जनताको समस्या समाधान गर्न फिल्डमै उत्रिन्छु । नेताहरुले त्यही सामान्य जनताका काम नगरेकाले नै आज म यहाँ आइपुगेको छु’–लामिछानेले भने ।

वि.सं.२०४९ साल चैत महिनामा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुवात भएको थियो । त्यसबेला रामपुरमा ४ वटा पानी टंकी निर्माण गरिएको थियो । जुगेडीबाट पानी त्यस स्थानमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्धन्द्धकालपछि धेरै संरचनाहरु नष्ट भएपछि खानेपानी टंकी क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाई गर्दै लामिछानेले रामनगरबासीलाई खानेपानी खुवाउन प्रयत्न गरेका हुन् । बुधबार पानी टंकी वरपर सबै सरसफाई गरिएको छ भने जुगेडीमाथि डाडामा रहेको खानेपानीको मुहान समेत सरसफाई गरिएको छ । मुहान सरसफाईमा शसस्त्र प्रहरी बलको टोलीले समेत श्रमदान गरेको छ ।

पानी टंकी क्षेत्रको सरसफाईमा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । स्थानीय सीता भट्टले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आइरहेकाले सांसद लामिछानेले पानी खुवाउने प्रतिवद्धता जनाएकाले श्रमदान गर्न पुगेको बताइन् । ‘अहिले हामी नगरबासीको मुख्य समस्या नै पानीकै छ, इनारको पानी खान बाध्य छौं’–भट्टले गुनासो गरिन् ।

भट्ट जस्तै यहाँका बासिन्दाहरु पानीको समस्या भोग्दै आइरहेका छन् । खानेपानी त आउँछ त प्रयाप्त नआउँदा सहज रुपमा पानी उपभोग गर्न पाइरहेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>