Breaking News

भरतपुरमा बिजुलीका तार भूमिगतः प्रचण्डद्वारा हतारमा उद्घाटन, कामको प्रगति शून्य

Banner

चितवन, मंसिर १३-

नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरलाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ ।

भरतपुर महानगरको मुख्य शहरी क्षेत्रमा तार भूमिगत गर्ने भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत भदौंमा हतारमा उद्घाटन गरेका थिए तर उद्घाटन भएको तीन महिना बितिसक्दा पनि काम सन्तोषजनक देखिएको छैन । भव्यरुपले महानगर अगाडि भरतपुर ओरालोमा गरिएको कामको उद्घाटनमा कार्यक्रममा प्रचण्डसहित, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले भरतपुर विकासको मोडल बनेको उद्घोष गरेका थिए । तार भूमिगत गर्न ठेक्का लागेको झण्डै एक वर्ष बितिसक्दा पनि परियोजनाको काम अलमलमा देखिन्छ ।

साढे दुई वर्षमा सक्ने गरी निकालिएको ठेक्काको झण्डै एक वर्ष समय व्यतित भइसकेको छ । अहिले जिम्मा पाएको भारतीय टाटा कम्पनीले भूमिगत गर्न आवश्यक पर्ने पर्याप्त सामानहरु पनि ल्याउन सकेको छैन ।

भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले ढिलासुस्ती भएपछि विद्युत् प्राधिकरणको प्रमुखलाई महानगरमा बोलाएर प्रक्रियाबारे जानकारी लिने काम भएको नारायणी अनलाइनलाई जानकारी दिए । आफ्ना तार भूमिगत गर्न सुरु गरेपछि पूर्वाधारको सह–प्रयोग गर्ने कम्पनीहरुसँग प्राधिकरणले प्रभावकारी ढंगले छलफल गरेको छैन ।

भरतपुरमा तार बिछ्याउने कामका लागि टाटा कम्पनीलाई प्राधिकरणले दुई अर्ब ५८ करोड ६९ लाख ३८ हजार ३५२ रुपैयाँमा ठेक्का दिएको हो । दुई वर्षभित्र काम सक्ने गरी कम्पनीले भूमिगत वितरण लाइनको डिजाइन, आपूर्ति, जडान र किमिसनिङसम्मको कामका लागि यस्तो ठेक्का पाएको हो ।

भरतपुरमा ३३ केभीको ९ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्न ठेक्का लागेको थियो । पहिलो चरणमा रिंगरोड क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गरिने भनिए पनि काम सुरु भएको छैन । नारायणगढको पुलचोकदेखि आँपटारी, आँपटारीदेखि केन्द्रीय बस टर्मिनल तथा केन्द्रीय बस टर्मिनलदेखि पुलचोकसम्म पहिलो चरणमा भूमिगत हुने बताइएको थियो ।

तार भूमिगत गर्न र त्यसक्रममा भत्किने सडक पुर्नस्थापना गर्ने प्राधिकरणले सडक विभागसँग समझदारी गरिसकेको छ । यो काम गर्दा सकेसम्म सडक कम भत्काउन प्रयास हुने प्राधिकरणले बताएको छ । त्यसकै लागि पहिलोपटक सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गरिएको छ । सडक खन्दा सर्वसाधारणले धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको प्राधिकरणले बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>