राजनीति

म रौतहट र प्रचण्ड गोरखा नगएको भए उछिट्याउने रहेछन्ः माधवकुमार नेपाल

Banner

काठमाडौं,मंसिर ११-

रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापे ।

सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए । नेपालले चुनावी अनुभव आदान प्रदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताको पनि चर्चा गरे । ‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्,’ कार्यकर्तामाझ नेपालले भने, ‘प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ ।’

२०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए । स्थानीय तह निर्वाचनमा उनको पार्टीले राम्रो मत पाएकाले नेता नेपालले काठमाडौं छाडेर रौतहट रोजेका थिए । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट गर्दा एकीकृत समाजवादीको भागमा २० सिट पाएको थियो । जसमध्ये १० जनाले मात्र चुनाव जितेका छन् । चुनाव जित्नेमा नेता नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भानुभक्त जोशी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, धनबहादुर बुढा र अम्मरबहादुर थापा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>