Breaking News

मलको समस्या बुझ्न साल्ट ट्रेडिङ पुगे रवि, भन्छन्ः मलको समस्या किसानको होइन अब मेरो हो

Banner

चितवन, मंसिर १०–

नेपाली किसानहरुको मुख्य समस्या हो मल तथा बिउविजन । समयमै मल नपाउँदै जहिल्यै किसानहरु समस्यामा भोग्दै आएका छन् । एक किलो मल किन्न घण्टौं लाइन लाग्नु पर्ने बाध्यता छ । यही समस्यामा कसरी समाधान गर्न सकिन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं.२ का नवनिर्वाचित सांसद रवि लामिछाने लागि परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट प्रमाणपत्र ग्रहण गरेसंगै लामिछाने जनताको समस्या बुझन् निस्किएका छन् ।

आज (शनिबार) विहान लामिछाने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखामा सरोकारवाला पक्षसंग चितवनलगायत देशभरका किसानले भोग्दै आएका मलको समस्याको विषयमा छलफल गरेका छन् । किसानहरु लामो समयदेखि भोग्दै आएको मलको समस्या समाधान गर्नु आफ्नो महत्वपूर्ण प्राथमितका मध्यको एक रहेको बताए । ‘किसानहरुले वर्षौदेखि भोग्दै आएका मलको समस्या अब उहाँहरुको होइन, त्यो मेरो समस्या भएको छ, म त्यसलाई समाधान गर्न आजैदेखि लागेको छु’–लामिछानेले भने ।

सभापति लामिछानेले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहाल र अन्य सरोकारवालासंग जिज्ञाशा राखेका थिए । लामिछानेले चितवनमा आयात भइरहेको मलको मात्रा र आवश्यक परिमाणको बारेमा जानकारी लिएका थिए । त्यस्तै मलको समस्या समाधानका लागि के गर्दा उचित हुन्छ भन्ने विषयमा सुझाव लिएका थिए । सो क्रममा लामिछानेले आफूले मलको बारेमा धेरै पक्षसंग छलफल गर्ने भन्दै ससमस्या देखिएको ठाउँको पहिचान गर्न आफूलाई सहयोग गर्न समेत आग्रह गरेका थिए । ‘मलको समस्या कहाँनिर गएर अड्किएको छ, त्यसको सूचना पनि मलाई दिनुहोला, मैले सूचना दिने व्यक्तिलाई गोप्य राखेर काम अगाडि बढाउँछु’ लामिछानेले सरोकारवाला पक्षसंग भने ‘सम्बन्धीत पक्षले महत्व नदिँदा नै किसानको मलको समस्या भोग्दै आएको मेरो ठम्याई छ ।’

सो क्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखाका प्रमुख दाहालले आफ्नो कार्यालयमा सिमित मात्रामा मल आउने भएकाले किसानहरु समक्ष सहज रुपमा पुर्‍याउन नसकिएको बताए । चितवनको मागको बारेमा मन्त्रालयदेखि सबै पक्षमा जानकारी गराउँदै पनि आवश्यक मात्रामा मल नआउँदै सबै ठाउँमा पुर्‍याउन समस्या भईरहेको बताए । ‘चितवन र समग्र देशमा आवश्यक मलको परिमाण बारे सबैलाई थाहा छ, तर सो अनुपातमा आपूर्ति नहुँदा समस्या ज्यूकात्यू छ’–दाहालले भने । उनले यो समस्या जिल्लातहमा नभई केन्द्रीय तहबाटै समस्या समाधान गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।

चितवनमा वार्षिक १७ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर साल्ट ट्रेडिङ र कृषि सामग्रीमा वार्षिक करिव ५ हजारको हाराहारीमा मात्रै युरिया मल आइपुग्छ । यसले गर्दा किसानले समयमै आवश्यक मात्रामा मल पाउने गरेका छैनन् । गत आर्थिक वर्षमा साल्ट ट्रेडिङबाट १ हजार मेट्रिक टन युरिया मल विक्री भएको थियो भने कृषि सामग्रीबाट करिव ४ हजार मेट्रिक टन युरिया मल विक्री भएको थियो । विगतका वर्षहरुमा चितवनमा १० हजार मेट्रिक टन मल आयात हुने गरिएको थियो । पछिल्लो समय मलको परिमाण झन घट्दो क्रममा छ ।

चितवनमा डिएपी मल वार्षिक ९ हजार मेट्रिक टन, पोटास ५ हजार मेट्रिक टन आवश्यक पर्छ । छलफलका कार्यक्रममा कृषि सामग्री कम्पनि लिमिटेड, मल विक्रेतालगायतको उपस्थिति थियो । छलफलमा सबैको कुरा सुनेपछि लामिछाने भावुक बन्दै अब मलको समस्या समाधान गर्न आफू निरन्तर लागि पर्ने बताए । मल नपाउँदा किसान रुनु परेको भन्दै किसानको आँशु पुच्छन आफू अघि बढेको बताए । ‘कहाँनिर मल आयातमा समस्या छ त्यो पत्ता लगाउँछु, अब किसानको आँखामा आँशु झर्ने दिने छैन’–लामिछाने भावुक हुँदै भने ।

लामिछाने मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट भारी मतान्तरसहित विजयी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>