चितवन विशेष

रविको चुनावी खर्च ११ लाख ८१ हजार ४७२ रुपैयाँ, कार्यकालभर सम्मान, पुरस्कार र उपहार नलिने

Banner

चितवन, मंसिर १०–

चितवन क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद रवि लामिछानेले आफ्नो क्षेत्रका तीन स्थानमा पुगेर मतदातालाई धन्यवाद दिएका छन् । निर्वाचित भएपछि भरतपुरको गेष्ट हाउस चौर, इच्छाकामना र कालिकामा पुगि धन्यवाद सभाको आयोजना गरी मतदाता र समर्थकलाई धन्यवाद दिएका हुन् ।

रविले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले निर्वाचनमा गरेको खर्च र केहि महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् । निर्वाचनमा ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ खर्च भएको उनले बताएका छन् । त्यस्तै, आफ्नो कार्यकालभरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने उनले निधो गरेका छन् ।

विस्तृतमा उनको फेसबुक स्टाटस

आदरणीय चितवन–२ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु।
आजबाट विजयको खुसियाली मनाउने सम्पुर्ण कार्यक्रमहरु सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहि बाट एकमुष्ठ धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुंदागत रुपमा राखें।
१. मेरो चुनावी खर्च ११ लाख ८१ जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन)
२. कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।
३( सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)
४. भोज, भतेर, पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला।
५. मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ।
६. प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।
७. कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।
८. औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९. सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा भरतपुर ११ स्थित घरमा राखिएको ‘भन्नुहोस् के सेवा गरौ’ लेखिएको बाकसमा खसाउनु होला।
१०. लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।
अन्त्यमा,
राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौ जादैछु। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईहरुको सेवामा समर्पित हुनेछु। पुर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु होला। म सम्भव भएसम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु। हामी आजबाटै काममा लाग्यौं।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>