चितवन विशेष

चितवन–१ का विकासका योजना रोकिन हुँदैन, म पदमा नहुदा पनि सहयोग गर्नेछु: सुरेन्द्र पाण्डे

Banner

चितवन, मंसिर ८–

चितवन–१ बाट प्रतिनिधिसभामा पराजित हुनुभएका एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका विकासका योजनाहरु रोकिन नहुने बताउनुभएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका एमाले उपाध्यक्ष पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले पराजित गरेपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै आफू पदमा नहुदा पनि विकासका योजना सञ्चालनमा सहयोग गर्ने बताउनु भएको हो ।

यसअघि बनेका विकासका योजना रोकिए भने चितवन १ नं क्षेत्र वर्षौं पछि धकेलिन सक्छ भन्दै पाण्डेले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो निर्वाचन क्षेत्रमा विगतमा विकास भएन भनेर फैलाइएको भ्रम सही नभएको बताउनुभएको छ ।

पाण्डेले भन्नुभयो, ‘ २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा मलाई मत दिनु हुने चितवन १ का सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु । निर्वाचनमा खटिनु भएका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी कमिटी, शुभेच्छुक र सहयोग गर्नु हुने सम्पूर्ण मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । निर्वाचनको प्रचार प्रसारको क्रममा विगतमा विकास भएन भन्ने भ्रम पनि फैलाइयो । वास्तवमा त्यो भ्रम सही थिएन र केबल त्यो चुनावी प्रोपोगान्डामात्र थियो । अब त्यसको कुनै अर्थ रहेन । हामीले गरेको विकास र बनाएका योजना रोकिनु हुन्न । म पदमा नहुदा पनि विकास र योजना अघि बढाउन आफ्ने तर्फबाट पूर्ण सहयोग गर्नेछु । विकास र योजना रोकिए भने चितवन १ नं क्षेत्र वर्षौं पछि धकेलिन सक्छ ।’ भर्खरै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हरि ढकाललाई हार्दिक बधाई दिँदै उहाँले भन्नुभयो, ‘प्रमुख निर्वाचन अधिकृत, मतदान अधिकृत, गणक, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीहरु, पत्रकार, सबैलाई धन्यवाद दिन चाहन्छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>