Breaking News

चितवन मेडिकल कलेजको आइसीयू कक्ष भित्रै प्रवेश गरेर तोडफोड, लाखौंको क्षति

Banner

चितवन, असोज १८–

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरुको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्ष भित्रमै प्रवेश गरेर तोडफोड गरेका हुन् ।

तोडफोडबाट लाखौंको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भिडले आइसीयू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए ।

‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड हुनु निन्दनीय छ, तोडफोडबाट लाखौंको क्षति भएको छ, चिकित्सक तथा नर्सहरु माथि समेत हातपात भएको छ’ देवकोटाले भने ‘संवेदनशील क्षेत्रमा यस्तो हर्कत हुनुमा सरकार गम्भीर हुनुपर्छ ।’ उनले थपे–‘अस्पतालले भर्खरको युवालाई बचाउन भनेर हरतवरले प्रयास गरेको हो, शतप्रतिशत निको हुन्छ भन्नेमा कसैले जिम्मा लिन सक्दैन ।’

अहिले अस्पतालमा बाक्लो मात्रामा शसस्त्र प्रहरी र नेपाल प्रहरी खटाईएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुवँरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई प्याङक्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरुले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताईएको छ ।मृतककी दिदी सावित्री कुँवरले भाइको उपचारमा अस्पतालले चरम लापरवाही गरेको आरोप लगाउनुभयो । घटना बारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसंग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ । तोडफोडमा संलग्नहरु गाडी र म्याजिक रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरीसंग समेत उनीहरुको घम्साघम्सी चलेको थियो । ‘सो क्रममा प्रहरी उपस्थित नभएको भए झनै ठूलो क्षति हुन सक्ने अवस्था थियो, समयमै प्रहरी पुगेर ठूलो क्षति हुनबाट रोकेको थियो’–प्रवक्ता विजयराज पण्डितले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>