राजनीति

‘बाबुराम र रवीन्द्र उस्तै रहेछन् भन्न मिल्दैन, सखर र गोबर हेर्दा त उस्तै–उस्तै हुन्छ’

Banner

काठमाडौं,असोज १२-

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्षयता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गर्नुभएको छ । आज मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो नाम परिवर्तन भए पनि सार एउटै छ । अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ । समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो । सामाजिक सञ्जालमा म र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्ने कुरा आइरहेको रहेछ । रवीन्द्र मिश्र राजावादीतिर जाँदैछन्, बाबुराम पनि पछि फर्किए भनेर लेखेको देख्न सकिन्छ । गुड (सखर) र गोबर हेर्दा त उस्तै–उस्तै हुन्छ तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन । हामी अग्रगमनको कुरा गरिरहेका छौँ । समुच्चतामा समाज रूपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे फेरि पछाडितिर घुमाइ फिराइ राजतन्त्र, एकात्मक राज्यसत्ता, निरङ्कुशतातिर फर्किने अभ्यास गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यस कारण युवा विद्यार्थीहरू सामाजिक सञ्जालमा यस्ता कुराबाट मुक्त हुनुपर्छ ।’ कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>