Breaking News

प्रचण्ड सिद्धियोस् भनेर एकथरी मानिसले रातदिन धुप हालेर बसेका छन्ः दाहाल

Banner

काठमाडौं,असोज ७-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकथरी मानिसहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको अरोप लगाएका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धीहरु उल्ट्याउने षड्यन्त्रको रुपमा भएको बताएका हुन्।

साथै उनले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताए। उनले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे। उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए। उनले आफूहरुले शतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताए।

उनले भने, ‘म भन्न चाहन्छु कुरा धेरै गहिरो छ। कुरा धेरै नै गहिरो छ। जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ। त्यो रोकिएको छैन। त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडी ल्याउने जमर्को भइराखेको छ। हामीले आफ्नो शतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्वासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा छ। मैले यो कुरा अमूर्त कुरा गरेको होइन। मैले मूर्त रुपमा भन्दैछु। अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझि, नजानेर, झुक्किएर भन्ने होइन। जानिबुझि संविधान मिच्ने जो काम भएको छ। यो सामान्य होइन। यो हजारौँको बलिदानबाट, लाखौँलाख किसानहरुको, मजदुरहरु, उत्पीडितहरुको आन्दोलनबाट प्राप्त भएका उपलब्धी खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी हो। यसलाई रोक्न अरु कसैले सक्दैन। जनताले र परिवर्तनकारी शक्तिहरुको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ। गत कालमा जुन प्रतिगमन हुन खोजेको थियो हामी सडकमा गएर, लाखौँ जनतालाई सडकमा ल्याइसकेपछि मात्रै मुख्यरुपमा त्यो प्रतिगमन त्यतिबेला परास्त भएको हो। अहिले संविधान खुलेआम मिच्ने जो प्रयास भएको छ। यसलाई पनि हामीले आम जनताको बीचमा गएर कसरी प्रतिगमन फेरि अगाडी आउँदैछ। कसरी प्रतिक्रान्तितिर देशलाई लैजाने षड्यन्त्र भएको छ भन्ने कुरा हामीले आम जनतालाई शिक्षित तुल्याउने, जागरुक तुल्याउने र आन्दोलित गरेर मात्रै यि प्रतिक्रान्तिकारी षड्यन्त्रहरुलाई, प्रतिगामी षड्यन्त्रहरुलाई परास्त गर्न सकिन्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>