Breaking News

चितवनको गर्मीमा शीतल जलबिरेको लामो झरना, एक वर्षमा २५ हजार आन्तरिक पर्यटक पुगे

Banner

पूजा ढकाल

चितवन, भदौ ५-

चितवनको जलबिरेमा रहेको लामो झरना युवाहरु माझ दिनप्रतिदिन लोकप्रिय हुँदै गएको छ । गर्मी याममा चिसो पानीमा खेल्न युवायुवतीहरुको भीड लाग्न थालेपछि इच्छाकामना गाँउपालिका–६ मा पर्ने यो झरना पर्यटकीय दृष्टिकोणले लोकप्रिय हुँदै गएको हो ।

झरना नारायणगढ–मुग्लिन सडक छेउमा पर्ने भएकोले पनि सडकमा यात्रा गर्ने यात्रुहरु बाटोमा रोकिएर झरनातिर उकालो लाग्छन् ।  जलबिरे झरना नारायणगढबाट २८ किलोमिटर मुग्लिन तर्फ र मुग्लिनबाट सात किलोमिटर नारायणगढ तर्फ पर्छ । त्यस्तै नारायणगढ–मुग्लिन मार्गको जलबिरे मन्दिरबाट २० मिनेटको पैदल यात्रापछि करिब ८०० मिटर उकालो पार गरेपछि लामो झरना आउँछ ।

जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङका अनुसार १२ महिना नै सञ्चालनमा रहने भएकोले विशेष त फागुनदेखि असोज महिनामा बढी पर्यटक र अन्य महिनामा पनि केही मात्रामा पर्यटक आउने गर्छन् । झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न, खेल्न, चिसो हावाको आनन्द लिन, फोटो खिचाउन देश तथा विदेशका विभिन्न मुलुकबाट पर्यटकहरु आउने गरेको गुरुङले नारायणी अनलाइनलाई जानकारी दिए । झरनामा बढी चितवन,नवलपुर, पोखरा, काठमाडौँ तथा तनहुँबाट पर्यटक आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उनीहरु प्राय गरेर शनिबार तथा सार्वजनिक बिदाको दिन आउने गर्छन् ।

झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणस्थल भएकोले विदेशी पर्यटकका लागि प्रति व्यक्ति टिकट १०० र नेपालीका लागि ५० रुपैयाँ टिकट शुल्क निधारण गरिएको उनले जानकारी दिए । विसं २०६९ देखि पर्यटन विकासका रुपमा सुरु भएको यस झरनाको लम्बाइ १०२ मिटरभन्दा लामो छ । यस झरनाको डाँडाबाट खसेको पानीले सबैको मन लोभ्याउने गर्छ । जसका कारण धेरै मानिसको मन लोभिने र हरिया पहाडहरूको बीचमा शान्त वातावरणमा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्श लिन पर्यटक आउने गरेको उनको भनाइ छ ।

उनले दिएको जानकारी अनुसार हिजो (शनिबार) मात्रै यहाँ ६५० पर्यटक आएका थिए । तर २०७२ सालमा भने एकै दिन १२ सय ५० सम्म पर्यटक आएका थिए र यो वर्ष उक्त रेकर्ड तोडिने समितिको योजना छ । त्यस्तै अन्य समयमा पनि दैनिक ४–११ सयको हाराहारीमा यहाँ पर्यटन आउने गर्छन् । उनी भन्छन्, ‘गत वर्ष पनि २५ हजार पर्यटक आएका थिए र यो वर्ष भने ३०–३५ हजारको हारहारीमा पर्यटक झरना अवलोकन गर्न आउने समितिले आकलन गरेको छ ।’

झरनामा प्राय बाह्य पर्यटक फागुन चौतमा क्यानोनिङ गर्न आउँछन् र यो झरना क्यानोनिङ गर्न एसियाकै उपयुक्त मान्निछ । त्यस्तै बाह्रै महिना यहाँ पर्यटक आउने भएकोले झरना विकास गर्न हालसम्म झण्डै दुई करोड लगानी गरिएको छ भने अझै १० करोड आवश्यक पर्ने उनले बताएका छन् । अब आउने दिनमा भने प्रदेश, स्थानीय र संघीय सरकारसँग समन्य गरेर विभिन्न प्याकेज ल्याउने र इच्छाकामनाको अन्य पर्यटक क्षेत्रको विकासमा पनि जोड दिइने समितिको योजना छ । हाल यहाँ स्थानीय सरकारले टिकट काट्न र सफा गर्न दुई कर्मचारी राखेको छ । त्यस्तै समितिले दुई हप्ते सरसफाई अभियान पनि चलाएको छ र यो अभियान सुरु भएको १० दिन भएको छ । उनका अनुसार समितिले प्रत्येक वर्ष साउनको अन्तिममा झरना सफा गर्ने कार्य सुरु गर्छ ।

फोटो: टुकमान गुरुङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>