Breaking News

एसईईको विषयगत मूल्यांकन नतिजा सार्वजनिक नगर्दा शैक्षिक सुधारमा कठिनाइ

Banner

प्रतिमा कुमाल

चितवन, साउन ३०–

अभिभावकलाई आफ्नो छोराछोरीको पढाइमा ज्ञानको स्तर र क्षमता थाहा पाउने अधिकारकै विषयभित्र पर्छ । तर, भरखरै सार्वजनिक एसईईको नतिजामा अभिभावकले आफ्नो छोराछोरी पढ्ने विद्यालयको विषयगत नतिजा भने थाहा पाउन सकेनन् ।

विशेषगरी चार जीपीए, ए प्लस र ए जीपीए ल्याउनेका परिवार र आफन्तबाट सामाजिक सञ्जालमा बधाईको ओइरो लाग्यो तर कम जिपीए ल्याएकाहरुको अभिभावक र आफन्त त्यति उत्साहित देखिएन्न । चार जीपीए, ए प्लस, ए जीपीए नल्याए पनि मेरो छोरा छोरीले यो विषयमा उत्कृष्ट नजिता ल्यायो भन्ने पनि कोही थिएन्न । यस्तै अलमलको अवस्थामा राष्ट्रिय परीक्षा बोर्ड पनि छ । यसले प्रत्येक वर्ष नतिजा त सार्वजनिक गर्छ तर कुन विषयमा कुन जिल्लाका विद्यार्थी सर्वाेत्कृष्ट, उत्कृष्ट, मध्यम र कमजोर भन्ने बताउँदैन । शिक्षा मन्त्रालय, ७ प्रदेशका शिक्षा विकास निर्देशनालय र ७७ वटै जिल्लाका शिक्षा इकाइले पनि आफ्नो मातहतको ठाउँको शिक्षाको मूल्याङ्कन गर्दैनन् ।

जिल्ला शिक्षा इकाइ चितवनका प्रमुख भूमिलाल शर्मा सुवेदीले भने, ‘केन्द्रले नै विषयगत मूल्याङ्कन गर्दैन ।’ विषयगत जीपीए भने माग गरिरहेको सुवेदीको भनाइ छ । उनले भने, ‘विषयगत जीपीए केन्द्रसँग हामीले माग गरिरहेका छौं । कुन जिल्लाका वा विद्यालयका विद्यार्थी कुनमा मध्यम छ । कुनमा उत्कृष्ट छ । कुनमा कमजोर छ भन्ने मूल्याङ्कन केन्द्रबाट भए सुधार गर्न सकिन्छ । सुवेदीले विषयगत नतिजा मूल्याङ्कन भए विद्यालय शिक्षामा थप पृष्ठपोषण गर्न सकिने बताए । तीन तहको सरकार छ । शिक्षा क्षेत्रको हरेक जिम्मेवारी र अधिकार केन्द्रले आफैँमा केन्द्रित गरेको छ ।

विद्यालयले पनि आफ्नो कमीकमजोरी लुकाएर विद्यार्थीको भविष्यसँग खेलिरहेका छन् ।  गणित विषयमा काठमाडौँ विश्वविद्यालयबाट पीएचडी गर्दै गरेका सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक बसन्त लामिछानेले हरेक विद्यालय कुन विषयमा कमजोर र सबल छ समग्र विषयको तथ्यांक विश्लेषण गर्नुपर्ने विचार राखे ।

उनले भने, ‘ नेपालको शिक्षा नम्बरमा केन्द्रित छ । यो नेपालको शिक्षाको मुख्य समस्या हो । यसलाई कम गर्नलाई जीपीए प्रणाली ल्याइएको हो तर यसको प्रयोग राम्रोसँग नहुदा पूरानै शैलीमा अगाडि बढेको छ ।’ यस्तै अवस्था रहे नेपालको शिक्षा नै असफल हुने लामिछानेले चिन्ता व्यक्त गरे । विषयगत मूल्यांकन स्थानीय पालिकाहरुले गर्छन् तर यसलाई सुधार्न खासै काम गर्न नसकेको उनले बताए ।

चितवनकै कुरा गर्दा यहाँ सामुदायिक विद्यालय १०५ वटा छन् । संस्थागत विद्यालय १२५ वटा छन् । यी विद्यालयबाट अहिले ११ हजार ९८६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

प्रत्यक्ष सहभागितामा भएको यस परीक्षामा चार जनाले चार जीपीए ल्याएका थिए । ५५० जनाले ‘ए’ प्लस, एक हजार २९२ जनाले ए प्लस, २ हजार १४१ जनाले बी प्लस, २ हजार ४२५ जनाले बी, २ हजार ६३९ जनाले सी प्लस, २ हजार २७८ जनाले सी, ६४५ जनाले डी प्लस र १४ जनाले डी जीपीए ल्याएका थिए ।

किन खस्कियो नतिजा ?

विश्वव्यापी कहरको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएसँगै यहाँ पनि बन्दाबन्दी भयो । जसको असर शिक्षा क्षेत्रमा पनि प¥यो । यस कारण २०७६ र २०७७ मा विद्यालय तहबाट एसईईको परीक्षा गर्ने व्यवस्था गरियो । यस व्यवस्था भएसँगै विद्यालयहरुले आन्तरिक मूल्याङ्क गरी विद्यार्थीको नतिजा सार्वजनिक गरे ।

२०७६ मा चितवनका २२९ जनाले चार जीपीए ल्याएका थिए । दुई हजार ४३६ जनाले ए प्लस, दुई हजार १७२ जनाले ए, दुई हजार २९९ जनाले बी प्लस, दुई हजार ४३३ जनाले बी, एक हजार ५५६ सी प्लस, २१८ जनाले सी र एक जनाले डी प्लस जीपीए ल्याएका थिए । डी जीपिए भने कसैले ल्याएन्न ।

यस्तै २०७७ सालको एसईईमा चितवनका २४९ जनाले चार जीपीए ल्याएका थिए । दुई हजार २९८ जनाले ए प्लस, दुई हजार ८५९ जनाले ए, तीन हजार ५३० जनाले बी प्लस, दुई हजार ४३७ जनाले बी, ३७५ जनाले सी प्लस, २५ जनाले सी जीपीए ल्याएका थिए । यो वर्ष डी प्लस र डी जीपीएमा शून्य नतिजा रहेको छ ।

आन्तरिक मूल्याङ्कनसहितको परीक्षा र प्रत्यक्ष परीक्षाको नतिजा आकाश पातलको फरक छ । यस्तो हुनुको कारण शिक्षा इकाइ चितवनका प्रमखु सुवेदी कोरोनाको कहर बताउँछन् । उनले भने, ‘कोरोनाका कारण आन्तरिक मूल्याङ्कन बाट विद्यार्थीको रिजल्ट प्रकाशन गर्नुपर्ने अवस्था रह्यो । जसले गर्दा उनीहरुको जीपीए माथि देखिएको हो । तथापी अहिले २०७८ को रिजल्टलाई नकारात्मक रिजल्ट हामीले मानेका छैनौं । आगामी वर्ष पक्कै पनि राम्रो हुने छ ।’

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले नेपालको साक्षरता ८० प्रतिशत पुगेको जनाएका थिए । यो तथ्याङ्क १५ वर्ष माथि ६० वर्षसम्मका उमेर समूहको हो । नेपालमा साक्षरता दर बढेको देखिन्छ तर चेतना विकास र शैक्षिक गुणस्तर भने खासै सन्तोषजनक छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>