चितवन विशेष

विक्रम, सौगात र सुवर्णको ‘ दि सिक्रेट्स अफ राधा’ भदौ १० बाट देशभर प्रदर्शन हुने

Banner

चितवन, साउन ३०-

लामो समयदेखि बेलायतमा बस्दै आइरहेका विक्रम डि जोशीले निर्माण गरेको नेपाली चलचित्र ‘दि सिक्रेट्स अफ राधा’ भदौं १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ चलचित्र मार्फत् अभिनेताका रुपमा दर्शकमाझ आफ्नो बेग्लै परिचय दिएका बिक्की यसपाली भने निर्माताका रुपमा राधामा प्रस्तुत भएका हुन् ।

सुवर्ण थापा निर्देशित ‘राधा’ निर्माणमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् । नारी शक्तिको विषयमा प्रस्तुत गरिएको चलचित्रबाट बिक्की निकै आशावादी छन् । ‘हामीले निकै मेहनतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्काे स्वरुप ‘राधा’ बनेको हो ।’
आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागिरहेको उनी बताउँछन् । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुका प्रधान, लोकेन्द्र लेखक, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक सुवर्णकै लेखन रहेको चलचित्र चित्लाङ र काठमाडौँमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छांयाकार नरेन्द्र मैनाली हुन् ।

अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै चलचित्रमा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता बिक्की ‘राधा’ ले दर्शकमाझ आफ्नो छाप छोड्नेमा बिश्वस्त छन् । महारानी इन्टरटेन्मेन्ट युके, बिरञ्जना इन्टरटेन्मेन्ट्स, आदियोगी भिजन, मन्डला अनलाइन र एमी फिल्मस्को संयुक्त निर्माणमा बनेको ‘राधा’ ले प्रदर्शनको मिति नजिकिँदै जादा प्रचारप्रसारमा तीव्रता दिइरहेको छ । चलचित्र दर्शकको अपेक्षाभन्दा धेरै राम्रो बनेको दाबी निर्माण पक्षको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>