Breaking News

मुलधारमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई कांग्रेस चितवनको आह्वान

Banner

चितवन, साउन २६–

नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन असन्तुष्ट नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

विहीबार एक विज्ञप्ती जारी गर्दै पार्टीले उक्त आह्वान गरेको हो । जिल्ला सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, चितवन सवै तहका नेता साथीहरुलाई स–सम्मान पार्टीको मुलधारको राजनीतिमा समावेश हुन र पार्टी हित विपरित कुनै पनि अभियानमा संलग्न नहुन र नगराउन यसै विज्ञप्ति मार्फत हार्दिक आव्हान गर्दछ ।’

निकट भविष्यमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनलाई पार्टीभित्रको गतिबिधिले पक्कै पनि सहयोग नगर्ने भन्दै लोकतान्त्रिक पार्टीमा वाद–विवाद र विचार–विमर्श चलिनै रहने विज्ञप्तीमा भनिएको छ। बिज्ञप्तिमा अघि भनिएको छ–‘हामी चाहन्छौ, लोकतान्त्रिक विधि र पद्धती अनुरुप पार्टीका आन्तरिक फोरमहरुमा वैचारिक वहसको प्रारम्भ गरौं र असहमतिका वीचबाट पनि सहमतिको खोजी गरौं ।’

सभापति खनालले मुलधारको राजनीतिक क्रियाकलापलाई व्यवस्थित र परिपक्क बनाउदै सहमति र एकताको वाटो अवलम्वन गर्दै एउटै राष्ट्रिय संकल्प र दुरदृष्टीका साथ राजनीतिक र शासकीय स्थिरताका लागि प्रयत्न गर्न पनि आग्रह गरेका छन ।

सहजीकरणको जिम्मा ६ नेतालाई

यसैबीच पार्टीको विश्वस्त स्रोतबाट प्राप्त जानकारी अनुसार समस्या समाधानमा सहजीकरण गर्न ६ नेतालाई जिम्मेवारी दिइएको छ । जसअनुसार चितवन क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका पूर्वसभापति शेषनाथ अधिकारी, महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी र डा. तिर्थ खनियाँ, क्षेत्र नम्बर २ र ३ मा पूर्वसभापति एवं वर्तमान केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्व सभापति रामकृष्ण घिमिरे खटिनेछन् । छिटो भन्दा छिटो यो समूहले परिणाम प्राप्त गर्ने पार्टीको बिश्वास छ ।
गत स्थानीय निर्वाचनदेखि नेपाली काँग्रेस चितवनमा असन्तुष्टिहरु बढ्दै गएका हुन् । यसबिचमा सयौँको संख्यामा नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>