Breaking News

चितवनमा पसाउन लागेको धानमा गभारो लागेपछि किसान चिन्तामा

Banner

प्रतिमा कुमाल

चितवन, साउन २६–

रासायनिक मलको अभाव खेपिरहेका चितवनका कृसानलाई धान बालीमा लागेको कीराले झन् चिन्तित बनाएको छ ।

विषेशगरी जिल्लाको पूर्वी क्षेत्रअन्तर्गत पर्ने बछौली, कठार, कुमरोजलगायतको ठाउँका धान खेतीमा गभारो र डडुवा रोग देखिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको हो ।

धान गोड्ने समयमा गभारोले धान बिग्रिँदा लगानी समेत नउठ्ने होकी भन्ने किसानमा छटपटी छ । गभारोले धानको गाँजनै खाएको किसान सुलोचना भट्ट आचार्यले नारायणी अनलाइनसँग गुनासो गर्छिन् । १२ कट्ठा आफ्नो र १२ कट्ठा ठेक्का गरी २४ कट्ठामा धान रोपनी गरेकी उनले गभारोले आजित बनाएको बताइन् । खैरहनी नगरपालिका वडा नं. १० कठार खरखुट्टेकी आचार्यलाई लगानी पनि नउठे हात मुख जोर्न धौधौ हुने पिरले सताइरहेको छ । उनले भनिन, ‘धानको गाँजनै खाइदिएको छ । धान लगाउनेबेला खेत जोतानमा मात्रै २० हजार खर्च भयो । लगानी पनि उठ्दैन की ।’

सोही ठाउँका नवराज श्रेष्ठले पनि एक हेक्टरमा धान खेती गरेका छन् । छरछिमेकका सबैको धानमा गभारो देखिएकाले आफ्नो खेतको धानमा समेत सर्ने उच्च सम्भावना रहेको बताए । विषादीको प्रयोग गरिरहेका श्रेष्ठले आफ्नो धान बालीमा चिन्तित पार्ने गरी गभारो नदेखिएको जीकिर गरे ।
अर्का किसान सिताराम अर्यालले धान बालीमा गभारोका सेता तथा खैरा पुतलीको आक्रमण बढिरहेको बताए । यिनका लार्भाले खेत नष्ट गर्नुपूर्व विषादीको प्रयोग गर्ने योजनामा रहेको जानकारी दिए ।

धान मात्र खेती गर्नेहरुको धानमा गभारोको बढी प्रभाव देखिएको उनको भनाइ छ । चार विघा क्षेत्रफलमा धान लगाएका अर्यालले महंगो भए पनि नाम चलेको कम्पनीको विषादी विज्ञहरुको सल्लाह अनुसार छर्न छरछिमेकमा सुझाव पनि दिने गरेका छन् । पूर्व चितवनमा गभारोको मुख्य समस्या देखि रहदा डडुवा भने केही ठाउँमा देखिएको छ ।

ज्ञान केन्द्रका अनुसार चितवनमा यस वर्ष १०० प्रतिशत नै धान रोपाइँ भएको छ । २२ हजार ९२७ हेक्टरमै खेती भएको सूचना अधिकारी मिनबहादुर पुनमगरले बताएका हुन् । धानको गभारो धानमा लाग्ने किराहरुमध्ये गभारो पनि एक प्रकारको प्रमुख कीरा हो । यसले ब्याडमा उम्रेको बेर्नादेखि लिएर धान पाकुन्जेलसम्म बिरुवालाई नोक्सान पु¥याउँछ । खासगरी यिनी कीराहरुले धानको गाभोमा प्वाल पारेर भित्र पसेर नरम भाग खान्छन् । यसरी भित्र पसेर खाँदा यिनले बिरुवाको बढ़ने भागलाई तल्लो तहबाटै काटिदिन्छन् । जसले गर्दा धानको बिरुवा वा गाभो मर्छ ।

धानमा लाग्ने गभारोको प्रकार

क) धानको पहेलो गभारो
ख) धानको सेतो गभारो
ग) धर्के गभारो
घ) गुलाबी गभारो

गभारोको रोकथामः

  1. क) गभारोका लाभ्रेहरु धानको डाठमा जमिनको नजिकै बस्ने हुनाले धान काट्दा जमिनको सतहनजिकैबाट काट्नु पर्छ ।
    ख) धान काटिसके पछि ठुटाहरु सङ्कलन गरेर जलाउने अथवा ठुटाहरु डुब्ने गरी ५–७ दिन सम्म पानी जमाइदिने वा खेतलाई गहिरो गरी जोत्नु पर्छ ।
    ग) कतिपय गभारोका पुतली बत्तीमा आकर्षित हुन्छन । तिनलाई बत्तीको फन्दामा पारेर मार्न सकिन्छ । प्रति हेक्टर ५–७ वटा बत्तीको पासो राख्नु पर्छ ।
    घ) माकुरा, फटयाङ्ग्रा जस्ता प्राकृतिक शत्रुहरुको संरक्षण गर्नु पर्छ ।
    ङ) धान चाँडो रोप्ने, चाडै पाक्ने र होचो जातहरु लगाउन तिर लाग्नुपर्छ ।

निमको पिना १० के.जी. प्रतिकठ्ठाका दरले प्रयोग गर्ने ।

निमजन्य बिषादी एजाडिराक्टिन०.०३% ईसी. ३–५ मिलिलिटर प्रति लिटर पानीका दरले मिसाएर छर्कने ।

सिफारिस मात्रामा मल खाधको प्रयोग गर्ने ।

नाइट्रोजनयुक्त मल सिफारिस भन्दा बढी मात्रमा प्रयोग नगर्ने ।

ट्राइकोग्रामा परजीवी किरा ५००००–१००००० प्रति हेक्टरका दरले रोपाइँ गरेको ३–४ हप्तापछि छाडने ।

गभारोहरु धेरै लाग्ने ठाउँमा विषादी छरेपछि ४–५ दिन सम्म खेतबाट पानी बाहिर जान दिन हुदैन् ।

फिप्रोनिल ०.३ प्रतिशत जीआर वा कारटाप हाइड्रोक्लोराइड ४ प्रतिशत जी विषदी एक के.जी प्रति रोपनीका दरले छिपछिपे पानी भएको खेतमा छर्ने । क्लोरोपाइरिफस ५० प्रतिशत+साइपरमेथ्रिन ५ प्रतिशत इ.सी १.५ मिलिलिटर प्रति लिटर पानीका दरले घोलेर स्प्रे गर्ने ।

फोलिथायान ५० प्रतिशत झोल ६०० देखि ८०० मिलिलिटरलाई सोही अनुपातको पानीमा मिसाएर प्रतिहेक्टरमा छर्ने ।

डडुवा रोगबाट धान कसरी जोगाउने ?

डडुवा रोगले धानबाली फस्टाउन दिँदैन । सुरुमा पातमा काला–काला टिम्का पर्ने यो रोगले पछि बोट सुकाउँछ । बोट पहेलो हुँदै सुकेपछि बढ्न सक्दैन भने राम्रोसँग हुर्किन पाउँदैन । हुर्किन नपाएपछि गाँज हाल्दैन । बाला लाग्दैन ।
गोडमेल गरेर मल हालेपछि रोग कीरा लाग्ने जोखिम हुन्छ । पानी पर्ने र घाम पनि लाग्ने अवस्थामा डडुवा रोग लाग्छ । धानले गाँज हाल्ने र बाला निस्कने बेला डडुवा रोगले समस्या पार्छ ।
धानलाई डडुवा रोगबाट जोगाउनका लागि विषादीको प्रयोग गर्नुपर्ने वैज्ञानिकको सुझाव छ । रोप्ने बेलामा यी रोग नलाग्ने जात लगाएमा भने यो रोगबाट धानबाली जोगाउन सकिन्छ । डडुवा रोगबाट जोगिने उपाय भनेको ढुसीनासक विषादीको प्रयोग हो । ढुसीनासक विषादी साप, डेरोसाल, कासुकी र ट्राइसाइकोजोक लगायतका विषादी प्रयोग गर्न सकिन्छ ।
कीराबाट धानबालीलाई जोगाउन स्टिकरको पनि प्रयोग गर्न सकिन्छ । यसका लागि नजिकैका कृषि प्राविधिकसँग सल्लाह लिनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>