कृषि

भरतपुरको कृष्णपुरमा अर्गानिक खाद्य सामग्री बेच्ने हिमालयन आमा एग्रो सञ्चालनमा

Banner

चितवन, साउन २६-

भरतपुर महानगरपालिका–७ कृष्णपुरमा रहेको अर्गानिक खाद्य सामग्रीको बिक्री केन्द्र हिमालयन आमा एग्रो प्रालि बिहीबार बाट सञ्चालनमा आएको छ ।
भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले बिहीबार प्रालि को उद्घाटन गरेका हुन् ।

बिक्री केन्द्रको उद्घाटनपछि उपप्रमुख अधिकारीले रासायनिक विषादीको प्रयोगबाट मानव जीवनमा नै विभिन्न असर देखिन थालेकाले प्राङ्गारिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताए । प्राङ्गारिक खेती गरिने जमिनमा रासायनिक वस्तुको प्रयोग गर्न नहुने भन्दै उपप्रमुख अधिकारीले रासायनिक खेती भन्दा केही मिटर टाढा हुनुपर्ने स्पष्ट पारे । जसका लागि सबै सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना बनाउन आवश्यक रहेको पनि उनले बताए । उनले क्षेत्रगतरुपमै उत्पादनको पकेट क्षेत्र र प्राङगारिक पकेट क्षेत्रलाई छुट्टाउनु पर्ने विचार राखे ।

भरतपुर महानगरको ८० प्रतिशत भूभाग कृषि क्षेत्रले ओगटेको र त्यो काँचो भूभागलाई खेती योग्य भूभागको रुपमा परिवर्तन गर्नु अति नै आवस्यक रहेको उपमेयर अधिकारीले बताए । प्रधानमन्त्री कृषि आधुनिक परियोजना गाउँमुखी नभई शहरमुखी भएकोमा उपप्रमुखले चिन्ता समेत प्रकट गरे । उनले भरतपुर महानगर कृषक र कृषि क्षेत्रको साथमा रहेको पनि बताए ।

कार्यक्रममा भरतपुर महानगर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले कृषिमा आफ्नो वडा सहयोग गर्न सदैब तयार रहेको बताए । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिक परियोजना चितवनका प्रमुख धनबहादुर थापाले अर्गानिक खेती गर्छु भन्ने कृषकहरुका लागि परियोजना सधै साथमा नै रहेको प्रष्ट पारे । जिल्लामा प्राङ्गारिक खेतीबारे व्यापकता दिनुपर्ने र सबैको सरोकारको विषय बनाइनुपर्ने कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत मीनबहादुर पुनले जानकारी दिए ।

प्राङ्गारिक खेती विस्तार गर्न सबै सरोकारवालाको सहभागितामा रणनीतिक योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको भरतपुर महानगरका कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले बताए । पौडेलले बिषादी न्यूनीकरण गर्न विविध कार्यक्रमहरु महानगरले सञ्चालन गरिरहेको पनि बताए । हिमालयन आमा एग्रो प्रालिको यो चौथो बिक्री केन्द्र हो । यस अघि प्रालिले भरतपुर १० मा हाम्रो अर्गानिक कृषि घर, डोको नाम्लो र कृष्णपुरमै डोको नाम्लोको दोस्रो बिक्री केन्द्र खोलिसकेको छ । प्रालिले हाल २७५ बिघा जमिनमा विभिन्न खेती गर्दै आइरहेको छ । आगामी दिनमा प्रालिले चितवनमा २५ स्थानमा र देशै भरी ११० ठाउँमा बिक्री केन्द्र खोल्ने योजना बनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>