Breaking News

प्रचण्डले जापान गएर झुट बोले, आबे नेपाल भ्रमणमा आएका थिएनन्

Banner

काठमाडौं, साउन २१-

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान पुगेर झुट बोलेका छन् ।
जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई आफूले दुईपटक भेटेको भनेर झुट बोलेका हुन् ।

उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए । ‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भने, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानी भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन(अन्तरक्रिया) राम्रो भएको थियो ।’

त्यसैगरी प्रचण्डले नेपालीहरुको यहाँ कस्तो स्थिति छ ? नेपालले नेपालीहरुका लागि के चाहिँ गर्न आवश्यक छ त ? भनेर बुझ्न आएको बताए । उनले भने, ‘चाहे कुनै व्यवासयमा हुने वा पढ्ने विद्यार्थीका लागि नेपालका तर्फबाट, नेपाल सरकार, नेपालको राजनीतिक नेतृत्वको तर्फबाट के गर्नपर्छ भन्ने अध्ययन गर्ने एउटा विषय छ ।’

तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गरेका थिएनन् । नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गरेका छैनन् । सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो । त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका छन् । पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गरेका थिए । जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आबेको गत महिना गोली हानेर हत्या भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>