Breaking News

यस्तो बन्दैछ भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन, यसैवर्ष काम सुरु हुने

Banner

चितवन, साउन १९–

भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले यसै आर्थिक वर्षदेखि नयाँ टर्मिनल भवन निर्माणको कामलाई अगाडि बढाउन लागेको हो । त्यसका लागि प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १९ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

भरतपुर विमानस्थलमा हाल सुरुवाती चरणकै टर्मिनल भवन रहेको छ । पुरानो र साँघुरो भएकाले नयाँ टर्मिनल भवन निर्माणको आवाज उठ्दै आएको थियो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक वि.क.ले यही आर्थिक वर्षमै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणको काम गर्ने तयारी थालेको जानकारी दिए । ‘यसवर्ष टर्मिनल भवन निर्माणको काम सुरु हुन्छ, यसका लागि प्राधिकरणको टोली केहीदिनमै भरतपुर आउने कार्यक्रम छ’–वि.क.ले नारायणी अनलाइनसंग भने ।

भरतपुर विमानस्थलमा कुल सवा अर्ब लगानीमा सात हजार सात सय ४९ वर्गमिटरको नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । यो सुविधा सम्पन्न र आकर्षक हुनेछ । भरतपुर विमानस्थल सन् १९६१ देखि संचालनमा आएको हो । यस विमानस्थलमा ११५८ मिटर लामो धावन मार्ग छ । यस धावन मार्गलाई पनि बढाएर १५०० मिटर लामो बनाउने तयारी छ । नयाँ टर्मिनल भवन निर्माणसंगै धावन मार्ग विस्तार गरेर यस विमानस्थललाई आकर्षक बनाउने तयारी सरकारको छ । यसमा भरतपुर महानगरपालिकाले तिव्र जोड गरेको छ । विमानस्थल विस्तारका लागि भरतपुर महानगरपालिकाले चरणबद्ध रुपमा संघीय पर्यटन मन्त्रीलाई बोलाएर छलफल गर्दै आइरहेको छ ।

यसपटक जसरी भए पनि नेपाल आर्मीको घोडा फार्मलाई अन्यत्र सारेर धावन मार्ग बढाउने तयारी पर्यटन मन्त्रालयको छ । यसका लागि नेपाल आर्मीबाट सकरामत्मक प्रतिक्रिया आइसकेको पर्यटन मन्त्री जीवनराम श्रेष्ठले केहीदिन अघिको छलफलमा जानकारी गराएका थिए ।

अहिले साँघुरो धावनमार्गका कारण भरतपुरमा ठूला जहाजहरु अवतरण गर्न सकेका छैनन् । हाल आरटी ४२ सिटे हजाज पनि पूर्ण क्षमतामा छैन । विमानस्थललाई विस्तार गर्न सकिए आरटी ७२ जहाज अवतरण गर्न सक्ने छन् । धावन मार्ग विस्तार गरिएमा रात्रीकालिन विमानस्थलको रुपमा समेत अघि बढाउन सकिने प्राधिकरणले जनाएको छ ।

भरतपुर विमानस्थलबाट हाल दैनिक ५०० को हाराहारीमा यात्रुहरु ओहोर दोहोर गर्ने गरेका छन् । हाल भरतपुरमा बुद्ध एयरले मात्रै उडान भरिरहेको छ । यसअघि यति, गुण, सिम्रिकलगायतले उडान भरेका थिए ।

नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो देशभरका विमानस्थल सुविधा–सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ ।

तस्विर सौजन्यः क्यान

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>