Breaking News

१८ मन्त्री बनेपछि झन् बढ्यो बागमती प्रदेशको खर्च,गाडी खरिद तथा मर्मतमै १ अर्ब स्वाहा

Banner

हेटौंडा,साउन १९-

बागमती प्रदेश सरकारले साढे ४ वर्षमा १ अर्ब १७ करोड रूपैयाँभन्दा बढी सवारीसाधन खरिद, मर्मत र इन्धनमा सकेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारीअनुसार प्रदेश सरकारले स्थापना भएको साढे ४ वर्षको अवधिमा सवारीसाधन खरिद गर्ने, मर्मत गर्ने तथा इन्धन हाल्नका लागि मात्रै १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रूपैयाँ खर्च गरेको पाइएको हो।

बागमती प्रदेशमा भागबण्डाका लागि सत्तारुढ गठबन्धनले साविकको ७ वटा मन्त्रालयलाई विभाजन गर्दै १४ वटा पुर्‍याएपछि सवारी खरिदमा सरकारको खर्च बढेको हो। गत कात्तिक ११ गते प्रदेशमा गठबन्धनको नेतृत्वमा सरकार गठन भएको थियो।

गठबन्धनमा भागबण्डा मिलाउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ७ वटा मन्त्रालयलाई विभाजन गरेर १४ वटा पुर्‍याएका थिए। त्यस्तै मन्त्रिमण्डल १८ जनाको बनाएका थिए। मन्त्रालय र मन्त्रीको संख्या बढेसँगै सवारी खरिदमा पनि सरकारको खर्च बढेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार प्रदेश सरकारले गत आव ०७८/७९ मा मात्रै सवारीसाधन खरिद तथा मर्मत र इन्धनमा कुल ४७ करोड २६ लाख ६७ हजार रूपैयाँ खर्च गरेको छ। प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री तथा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूका लागि गत आर्थिक वर्षमा ३० करोड १० लाख ४९ हजार ४६९ रूपैयाँ बराबरको सवारीसाधन खरिद गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारका विभिन्न निकाय र कार्यालयले सवारी मर्मतबापत गत आर्थिक वर्षमा ८० करोड १ लाख १४ हजार ७४९ रुपैयाँ खर्चेको छ। प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र पदाधिकारीहरूले प्रयोग गर्ने सवारीसाधनमा ९० लाख ३० हजार ८६४ रूपैयाँको इन्धन खर्च गरेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>