मनोरञ्जन
शान्तिश्री र सारिकाको स्वरमा रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

काठमाडौं, साउन १४-
हिन्दू महिलाहरूको पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन, सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ ।
योगेश काजीको संगीत, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा सार्वजनिक गरिएको हो ।
वरिष्ठ संगीतकार राजु सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उनीहरूले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिएका थिए । ‘तीज गीतमा पछिल्लो समय मौलिकता हराउँदै गएको हो कि भन्ने पाइन्छ गीतहरू सुन्दा तर यस्ता गीतले यसको मौलिकता बचाइराख्छन्,’ गायिका राणाले भनिन् । सो अवसरमा गीत संगीतसँग सम्बन्धितहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
सात दिदीबहिनीको कथा बुनिएको गीतको भिडियोमा रोशन बुढाथोकीको कोरियोग्राफी रहेको छ । भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापालगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ । ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको भिडियो आकर्षक ढंगबाट निर्माण गरिएको छ ।
नरेश खरेलको शृंगार, राहुल राईको छायांकन र विष्णु शर्माको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन शिव कैलाश कला मन्दिर रहेको छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन् । यस्तै उनका अन्य गीत पनि श्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् ।