विचार/ब्लग

वैदेशिक रोजगारीले निम्त्याएको दुःखद् पारिवारिक अन्त्य र यसका विविध पक्षहरु

Banner

रोहित लोहनी

वैदेशिक रोजगार र यसले उब्जाएका जटिल पारिवारिक सम्बन्ध र अपराधका फेहरिस्तहरु सामाजिक सञ्जाल र अनलाइन स्रोतहरुबाट हरेक दिनजसो प्रकाशन त भइराखेकै छ । त्यसै क्रममा अस्ति साउन ८ गते राति भरतपुर महानगरपालिका–१० को रमाइलो चोकमा वैदेशिक रोजगारीबाट फर्किएका कृष्णप्रसाद आचार्यले आफ्नो श्रीमती रुश्मा घिमिरे आचार्यको आततायी हत्यापछि घरको माथिल्लो तलाबाट हामफालेर आत्महत्या गरेको नरमाइलो घटनापछि जिउ पुरै चिसो भयो । सो खबर आगोसरी देशभित्रबाहिर फैलियो, सामाजिक सञ्जालमा चर्चा परिचर्चाहरु हुनथाले, पाठकहरुले आफ्नो प्रतिक्रियाहरु दिनथाले । हत्या र आत्महत्याप्रति समवेदना, आक्रोश र आशंकित कारणहरुमाथि विचार विमर्श, पक्षविपक्षमा बहसचलिरहेको छ, यता म भने विचलित छु, घोत्लिरहेको छु । यस घटनापछि चुपलागेर बस्न सकिन र आफ्नो बुताले भ्याएसम्मको पक्षहरु मथि चर्चा गरेको छु ।

१. वैदेशिक रोजगारीको इतिहास र राज्यको भूमिका

सन् १९९० को दशक अघिसम्म भारत, बेलायतका सेनाहरु र यदाकदा अरु क्षेत्रमा सीमित वैदेशिक रोजगारको क्रम ९० को दशकपछि जब राज्यले उदारीकरणको नीति अबलम्बन गरेपश्चात व्यापक बन्न पुग्यो । देश भित्र निजीकरणको लहर चल्यो भने बाह्य क्षेत्र पनि खुला गरियो, लगत्तै विश्व व्यापार संगठनको सदस्यता प्राप्तिको कारण करका दरहरु घटाइए, राज्य नियन्त्रित कलकारखानाहरु बेचिए, आयातित वस्तुहरुसँग प्रतिस्पर्धा गर्न नसकी स्वदेशी उद्योग धन्दाहरु चौपट भए भने त्यति नै बेला देशभित्रमा माओवादी आन्दोलनको कारणले देश गृहयुद्धको चपेटामा पिल्सियो । फलस्वरुप देशभित्र औद्योगिक वातावरण कायम हुन नसक्नाले एकातर्फ उदारीकरण पश्चात अपेक्षित वैदेशिक लगानी पनि आउन सकेन भने अर्कोतर्फ देशभित्रका उद्योगी व्यवसायीहरुको मनोबल खस्कँदा नयाँ रोजगारीको अवसर सिर्जना भएनन्, भएका कतिपय रोजगारीका अवसरहरु पनि आन्तरिक द्वन्द्वको कारणले गुमाइयो । ठिक त्यसै समयतिर मध्यपूर्वका अरब देशहरु, मलेशिया, कोरियालगायतका देशहरुमा चुलिन थालेको समृद्धिलाई आवश्यक अपुग रोजगारीका अवसरहरुमा नेपालभित्र गृहयुद्धबाट निसासिएको जनशक्तिहरु वस्तुको रुपमा सप्लाई हुनथाले, जसको कारणले देशभित्र विप्रेषण आम्दानी ह्वात्तै बढ्यो ।

जसले स्वदेशमा रहेका आश्रित परिवारलाई आर्थिकरुपमा परनिर्भर बनाउँदै उपभोग दर बढायो । जसको कारणले सामजिकरुपमा अस्तित्वमा रहेका संयुक्त परिवारहरु एकल परिवारमा परिणत हुन पुगे, पारिवारिक बेमेल, सांस्कृतिक विचलन, सम्बन्ध बिच्छेद, पारिवारिक अपराध जस्ता सामाजिक अस्थिरताहरु प्रष्ट देखिन थाले । एकातिर राज्यले तत्काल देशभित्र रोजगारी बढाउने, आयात प्रतिस्थापन गर्ने, विदेशिएका जनशक्तिलाई स्वदेश फर्काउने, थप जनशक्ति विदेशिन नदिने खालका कार्यक्रम सञ्चालन गर्न सकेको छैन भने बेइमान राजनीतिक नेतृत्वले विप्रेषण आम्दानीबाटै देश चलाउन खोजेको पनि प्रष्ट देखिएको छ । शिक्षित र युवा जनशक्ति देशभित्र बेरोजगार रहँदा आफ्नो राजनीतिक अभिष्ट पूरा हुन सक्दैन, दास कार्यकर्ताहरु भड्िकन सक्छन् भन्ने सोच राजनीतिक नेतृत्वले राखेको पनि हुन सक्छ । अर्कोतिर युवा जनशक्तिहरु देशभित्र उत्पन्न राजनीतिक अस्थिरता, खिचातानी र असुरक्षाको भावना र स्वदेशी रोजगारीबाट प्राप्तहुने न्यून आम्दानीले गर्दा चरम वितृष्णा भई विदेशिन पुगेको देखिन्छ ।

पछिल्लो समय सरकारी सेवामा रहेका राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षानिकाय, शिक्षा र स्वास्थ्य क्षेत्र, बँैकिङ क्षेत्रमा कार्यरत जनशक्तिहरु पनि सेवाबाट अवकाश भएपछि विदेशिएका उदाहरणहरु प्रशस्त देखिएका छन् । यसरी विदेशिएका जनशक्तिहरुबाट देशले विप्रेषण आम्दानी, सीप, प्रविधिप्राप्त गरेता पनि यसका सामाजिक, मनोसामाजिक, सांस्कृतिक पक्षहरुमा भने नकारात्मक असरहरु बढ्दै गएको छ । राज्यले विदेशिएका नागरिकहरुले रगत र पसिनासँग साटेको रेमिट्यान्स चालू खर्च र आयातमा उपयोग गर्ने मात्र होइन, त्यो रेमिट्यान्सलाई पुँजी निर्माणमा लगाएर र अन्य स्रोतसाधनको पहिचान र उपयोग गरेर यथाशक्य छिटो औद्योगिकीकरण तर्फको यात्रा सुरु गर्नु जरुरी छ, यसो गरियो भनेमात्र विदेशिएका जनशक्तिलाई फर्काउन र विदेशिन लागेका जनशक्तिहरुलाई देशभित्र रोक्न सकिन्छ । तत्कालको लागि विदेशिएका युवाहरुलाई उनीहरुको भावी जीवनको आर्थिक सुरक्षाको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष, सञ्चय कोष, रेमिट्यान्स आयलाई शेयरको रुपमा लगानीको ठाउँहरु जुटाइदिने, उनीहरु र उनीहरुका परिवारहरु आर्थिक, सामाजिक र कानुनी रुपले सुरक्षित रहने वातावरण निर्माण गर्नु गराइनु पर्छ ।

२. कानुनी त्रुटि:

नेपालको सम्बन्ध विच्छेद र घरेलु हिंसासम्बन्धी कानुन बनाउँदा पुरुष हुनु पीडक हुनु हो, सामान्य तया पुरुषबाट नारीहरु प्रताडित हुन्छन्, नारीहरुले पुरुषलाई हानी नोक्सानी पु¥याउन सक्दैनन् भन्ने आशय राखी कानुन निर्माण भएको देखिन्छ । त्यसले गर्दा कानुनअनुसार श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद गर्न पाउने कानुनी प्रावधानमा महिलालाई अलिकति बढी ओत दिएको जस्तो देखिन्छ । श्रीमान्ले सम्बन्ध विच्छेद गर्न पाउने आधारहरु, शर्तहरु पूरा गर्न पर्खनुपर्ने, अलि झन्झटिलो र कानुन धेरै हदसम्म महिलामैत्री देखिएको, श्रीमतीले सम्पतिमाथिको अधिकारमा यदाकदा अधिकार दाबी गर्ने गरेको, सम्पति लिएर परपुरुषसँग गएको अवस्थामा सम्पति फिर्ता गर्दा हुने हैरानी र केही हदसम्म असम्भव र आर्थिक रुपमा बिचल्ली भएको पनि देखिएको छ ।

यस्तो परिदृश्यमा यदाकदा संसदसम्म पनि महिलाबाट पुरुषहरु पनि अन्यायमा परेको, महिलामैत्री कानुन निर्माण गर्ने क्रममा पुरुषहरु पीडित बनेको भन्ने आवाज पनि उठाइएको छ । जुनसुकै लिंगका व्यक्तिहरु पनि पीडित र पीडक दुवै हुन सक्छन्, पीडकले सजाय पाउनैपर्छ र पीडितले न्याय पाउनुपर्छ भन्ने धारणा राखेर कानुन निर्माण गर्नुपर्नेमा पुरुषहरु पीडक हुन्छन् भन्ने धारणाबाट कानुन निर्माण हुन पुग्दा धेरै पुरुषहरु आज या त आफ्नो पीडा लुकाएर समाजमा बसेका छन्, या अपराधकर्मतिर बढेका छन् जसले गर्दा समाज अशान्त बनेको छ । राज्यले महिलाहरुको हकहित सुरक्षित गर्ने गराउने उद्देश्य राखेर महिलामैत्री कानुन बनाओस् नै तर पुरुषहरु अन्यायमा पर्नसक्ने सम्भावित ठाउँहरु पहिल्याएर उनीहरुलाई पनि कानुनी रुपमा असजिलो बनाइनु हुदैन । मुलुकी देवानी संहिता–२०७४ को दफा ९४ मा श्रीमान्ले एकतर्फी रुपमा सम्बन्ध विच्छेद गर्न पाउने अधिकार अन्तर्गत (क) मा मन्जुरी बिना ३ वर्ष अलग बसेको भन्ने प्रावधानले र (ग) अन्तर्गत शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम गरेमा भन्ने प्रावधानमध्ये यो मानसिक कष्टको निक्र्याैल गर्ने मापदण्ड अमुर्त भएको कारणले गर्दा प्रताडित पुरुषहरु सम्भावित प्रमाण पु¥याउन सकस, समय कुर्दा हुने हैरानी र समय घर्कदा आईपर्ने विभिन्न आर्थिक सामाजिक जोखिमहरुले गर्दा पुरुषहरु झनै पीडित भएका छन् ।

त्यसैगरी दफा ७२ (घ) अनुसार कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह स्वत बदर हुनेछ भन्ने ब्यवस्था र दफा ८२ (ग) अन्तर्गत पत्नीले कानुन बमोजिम सम्बन्ध नहँुदै अर्को विवाह गरेमा पतिपत्नी बीचको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने छ भन्ने प्रावधान परस्परमा बाँझिएको छ । कानुनले महिलालाई चाँही सम्बन्ध बिच्छेद नहँुदै विवाह गर्ने छुट दिएको हो कि भन्ने पनि बुझिन्छ । सामान्य भाषामा भन्नुपर्दा दफा ७२ (घ) अनुसार बदर हुने विवाहलाई दफा ८२ (ग) मार्फत पत्नीलाई छुट भनेजस्तो देखिन आएको छ । यसरी कानुन निर्माणमा पुरुष सदस्यलाई कस्ने राज्यको नीतिले पुरुष मनोविज्ञान माथि दमन गरेको भान हुन्छ ।

३. सामाजिकपक्ष:

हाम्रो सनातन संस्कृतिदेखि चलिआएको संयुक्त परिवारको बदलामा पछिल्लो समय एकल परिवारले स्थान लिएको देखिन्छ । जनगणनाको रिर्पोटहरुलाई हेर्दा पछिल्ला दशकहरुमा एकल परिवार संस्कृति ह्वात्तै मौलाएको छ । अन्य अर्थ नलागेमा, संयुक्त परिवारमा पनि विशेष गरी महिला सदस्यहरुबीचको बेमेल, आपसी खिचातानी र स्वार्थ बाझिनुको कारणले गर्दा परिवारका सदस्यहरुबीच दूरी बढ्न गई एकल परिवार निर्माण हुने गरेको देखिन्छ । यसले गर्दा परिवारका सदस्यहरुबीच हुने आपसी सद्भाव, भाईचारा, सामूहिकता, रेखदेखमा कमी आइरहेको र पछिल्लो पुस्ताले स्वतन्त्रतालाई जुनसुकै मूल्यमा पनि हासिल गर्न उद्यत रहेको देखिएको छ । यसरी सम्बन्ध कमजोर भइ बनेको एकल परिवारमा पनि एउटा वा धेरै सदस्यहरु घरबाहिर हुँदा बढ्ने भावनात्मक दूरी, आपसी आशंका, प्रविधिले सिर्जना गर्न सक्ने नकारात्मक अवसरहरु, यौनिक आवश्यकताले गर्दा हुनसक्ने तेस्रो व्यक्तिको प्रवेश वा आशंका र त्यसपछि हुनसक्ने र भएका असुरक्षित एकल परिवारहरु हाम्रो समाजमा प्रकट, अप्रकट रुपमापर्याप्त देखिइरहेकै छ ।
अग्नि साक्षी राखेर सात फेरा लिएर सात जुनी सँगै बाँच्ने कसमखाएर सुरु भएको दाम्पत्य जीवनको विघटन हुनुलाई कुनै पनि अर्थमा सुखद मान्न त सकिदैन । परिवारको विघटन पश्चात हुने सदस्यहरुको पुर्नसामाजिकीकरणमा पनि हाम्रो समाज उदार रहेको पाइँदैन भने आश्रित परिवारका अन्य सदस्यहरु मनोवैज्ञानिक, शैक्षिक, सामाजिक रुपमा कमजोर र असुरक्षित बन्न पुग्छन् फलस्वरुप अवाञ्छित कार्यहरुमा संलग्नहुने गरेको पनि यदाकदा देखिएको छ ।

आर्थिक, शैक्षिक, सामाजिक र कानुनी रुपमा हालका महिलाहरु सक्षम बनिसकेका र बन्ने प्रक्रियामा छन् । केही दशक अघिसम्म चुलाचौकामा सीमित महिलाहरु घरबाहिर निस्केर आयआर्जनका विभिन्न क्षेत्रहरुमा संलग्न छन् । अर्कोतर्फ पितृसत्तात्मक सोचले ग्रस्त रहेको नेपाली समाजका पुरुष सदस्यले अझै आफूलाई पहिलो श्रेणीको नागरिक ठान्ने र महिलालाई दोस्रो श्रेणीको रुपमा हेर्ने गरेको पनि देखिएको छ । अनि महिलाको बराबरीको हैसियत र कतिपय अवस्थामा माथिल्लो हैसियतलाई पुरुष मनोविज्ञानले पचाउनै नसकेको र कतिपय अवस्थामा मजबुत बराबरी र माथिल्लो हैसियत बनाएका महिलाहरुले पनि घरको पुरुष सदस्यको मानमर्दन गरेको पनि यदाकदा पाइएको छ । यस्तो अवस्थामा शारीरिक रुपमा बलिया पुरुष सदस्यले महिला सदस्यलाई दबाउन शारीरिक हिंसामा उत्रिने गरेको पनि देखिएको छ ।
यदि दम्पतीहरुबीच गहिरो र प्रगाढ सम्बन्ध छ भने सम्बन्धमा तेस्रो व्यक्ति प्रवेशको सम्भावना अत्यन्तै कम हुन्छ । आशंकित र कमजोर सम्बन्ध र दुईमध्ये एकको अनुपस्थितिमा तेस्रो व्यक्तिको प्रवेशको सम्भावना रहेको हुन्छ । यो अवस्था आउन नदिनको लागि दम्पतीहरुले सकेसम्म सँगै रहने वातावरण निर्माण गर्नु अथवा एक आपसमा भौतिक वा भर्चुअल रुपमा प्रशस्त समय बिताउनुपर्छ साथै सम्बन्धका विभिन्न आयामहरुलाई मजबुत बनाउँदै लैजानुपर्छ ।

४. भावनात्मक पक्ष:

प्राकृतिक रुपबाट सोच्दा आमव्यक्तिहरु नैसर्गिक हुन्, सबै व्यक्तिहरुको आफ्नो जीवन जिउने हक हुन्छ, आफ्नो शरीरमाथि आफ्नो नियन्त्रण र निर्णय लिने अधिकार हुन्छ भनेर सोच्ने हो मात्र भने यौन स्वतन्त्रता हुन गई हाल देखापरेको सांस्कृतिक विचलनलाई अपराध मानेर समस्या एकैछिनमा समाधान हुन्छ तर सम्बन्ध बिच्छेदको दर ह्वात्तै बढ्छ । भित्री रुपमा एकातर्फबाट छर्लङ्ग भइसकेको तर बाहिरी रुपबाट अझै बन्दरहेको समाजमा यौन सदैब सामाजिक चासोको विषय बन्न पुगेको र पारिवारिक इज्जत र मर्यादालाई महिलाको जनेन्द्रियसँग जोडिएको कारणले गर्दा पनि सांस्कृतिक विचलन वा आशंका मात्रले पनि समाजमा ठूलो अर्थ राख्छ । श्रीमान् श्रीमतिबीच हुने अति प्रेम र एकले अर्कोलाई आफ्नो एकल स्वामित्वको निजी वस्तु ठान्नु र निर्जीव वस्तु जसरी एकोहोरो प्रेमले अर्को व्यक्ति निसासिएको पनि हुनसक्छ । दोश्रो व्यक्तिको जन्म नै आफ्नो लागि भएको हो र उ नै आफ्नो एकमात्र उद्देश्य ठान्नुले पनि सम्बन्ध विच्छेद पछिको बाँकी जीवनको उपादेयता नदेख्नु, जीवनको अन्त्य र गन्तब्य सकिएको ठान्नुले पनि हाम्रो समाजमा अपराध भएका घटनाहरु देखिएका छन् । सम्बन्ध विच्छेद पछि पनि जीवन बाँकी रहन्छ, जीवन अर्को शिराबाट फेरी पनि फूल्न सक्छ, सम्बन्ध बिच्छेद जीवनको अन्त्य होइन, यो पछि पनि पुनःनयाँ दोस्रो व्यक्तिसँग प्रेम र विवाह हुनसक्छ, सम्बन्ध विच्छेद जीवनको सामान्य परिघटना हो भन्ने मानसिकता निर्माण गर्नु गराउनु जरुरी देखिएको छ । सम्बन्ध विच्छेद पछि हुनसक्ने सामाजिक, मानसिक र भावनात्मक रुपले आईपर्ने समस्याहरुलाई सुझबुझपूर्ण ढंगले सल्ट्याउनको लागि मानसिक रुपमा तयार बन्न सक्नुपर्छ र हालका दिनहरुमा सम्बन्धबिच्छेदको घटनाहरु बढ्दै गइरहेको सन्दर्भमा राज्यले सामाजिक हेल्प डेक्स, मनोपरामर्शदाताको व्यवस्था र कतिपय अवस्थामा पीडित र आवश्यकता अनुसार अन्य घरपरिवारका सदस्यहरुलाई आवश्यक पर्ने सुरक्षित सेल्टरहरुको निर्माण गर्नु गराउनु पनि जरुरी भइसकेको छ । आफन्त, साथीभाई र इष्टमित्रहरुले शंका, उपशंकाहरुले ग्रसित भइसकेको सम्बन्धलाई टालटुल पार्न खोज्ने मुर्खता गर्नु हुदैन, अविश्वासले जरा गाडिसकेको र आपसीरुपमा धर्मराइसकेको सम्बन्धलाई जर्बजस्ती टेको लगाउनु हुदैन, यथाशक्य छिटो टुङ्ग्याउनुपर्छ ।

अन्तमा यस्ता हृदयविदारक घटनाहरुबाट पाठ सिकेर राज्यले समानता र समता भएको कानुन निर्माण गर्नु, समाज र ईष्टमित्रले जटिल पारिवारिक बेमेलको सन्दर्भमा मेलमिलापको नारा घन्काउन छाड्नुपर्छ भने घरपरिवारका सदस्यहरुले आफ्ना सदस्यहरुबीच आपसी सम्बन्धमा मिठास र उल्लासपूर्ण सम्बन्ध बनाउनुपर्दछ र सम्बन्ध विच्छेद वा सो सम्बन्धी विवादले हुने सामाजिक, मनोवैज्ञानिक र अपराधिक हानिहरुलाई कम गराउने प्रयासहरु समयमै चालिनुपर्छ ।

(भानु नगरपालिका–१० तनहुँका लोहनी गण्डकी विश्वविद्यालय पोखराका प्राध्यापक हुन् ।)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>