देश/प्रदेश

आज ७३औं हलो क्रान्ति दिवस, अभियन्ताहरूलाई सम्झिँदै

Banner

लमजुङ, साउन ११-

लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो ।

११ साउन २००६ मा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले नेपालमै पहिलोपटक हलो जोतेका थिए । हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई ११ साउन २००७ मा पक्राउ गरी जेल हालेको थियो । उनीहरूलाई हतोत्साहित पार्न त्यतिखेर ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोती बिग्रे’ भन्ने गीत नै बनाएका थिए ।

त्यसबेला हलो जोत्नेलाई भात बारिएको थियो । माइत आएका छोरी घर जान पाएनन् भने घर गएका बुहारी माइत आउनसमेत रोक लागेको थियो । उमेर पुगेका युवायुवतीको बिहे नै रोकिएको थियो । तर, तीन वर्षपछि विभेद रोकियो । हलोक्रान्तिको धेरैले प्रशंसा गर्न थाले र दिवसकै रुपमा मनाउन थालिएको प्रतिष्ठानका अध्यक्ष दिपक पौडेल बताउँछन् ।

दुराडाँडामा सुरु भएको हलो क्रान्तिपछि २००६ पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ वैशाखमा अर्घाखाँची र गोरखाका साथै २००८ मा स्याङ्जामा हलो जोत्ने अभियान सुरु भयो । ब्राह्मणले पहिलोपटक हलो जोतेको सम्झनामा हरेक वर्ष ११ साउनमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा औपचारिक कार्यक्रम हुँदै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>