Uncategorized

बजेटको अघिल्लो दिनको सिसिटिभी फुटेज रिकभर

Banner

काठमाडौं, साउन १०-

अर्थ मन्त्रालयले डिलिट भएको दाबी गरेको सिसिटिभी फुटेज प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले ‘रिकभर’ गरेको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएरनभएको निर्क्यौलका निम्ति संसदको विशेष छानबिन समितिले सिसिटिभीको हार्डडिस्क प्रहरीको प्रयोगशालालाई बुझाएको थियो।

सोमबार प्रयोगशालाले भिडिओ रिकभर भएको विवरण शिलबन्दी गरेर समितिमा पठाएको थियो। त्यो विवरण समितिको मंगलबारको बैठकमा खोलिएको थियो।

‘भिडिओ रिकभर भएको विवरण समितिलाई प्राप्त भएको छ। भिडिओ भने हेर्न पाएका छैनौं। आजै विज्ञहरूको उपस्थितिमा भिडिओ हेरिनेछ,’ समितिका सदस्य सांसद सीताराम महतोले भने।

प्रयोगशालाले असार १४ को विभिन्न क्लिप्स समितिलाई बुझाएको छ। त्यस दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ। साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन्।

उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए।

समितिका सचिव सुरेन्द्र अर्यालले पनि प्राविधिक विषयमा प्रस्ट हुनका निम्ति समितिले विज्ञहरूलाई बोलाएको बताए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>