Breaking News

चितवनमा यौनजन्य हिंसाका घटना बढ्यो, प्रहरीमा ६३ घटनाका पीडितले दिए उजुरी

Banner

चितवन, साउन ९-

चितवनमा पछिल्लो तीन वर्षको अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ ।

जिल्लामा जबरजस्ती करणी र बाल यौन दुरुपयोग जस्ता यौनजन्य हिंसाका घटनामा वृद्धि भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले चिन्ता व्यक्त गरेका हुन् ।

माइती नेपाल चितवनले आज भरतपुरमा गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरुमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको बताए । अधिकारीले चितवनमा आर्थिक वर्ष २०७६\७७ मा जबरजस्ती करणीका ५१ वटा घटना दर्ता भएकामा आर्थिक वर्ष २०७७\७८ मा ६० वटा तथा आर्थिक वर्ष २०७८\७९ मा ६३ वटा पुगेका जानकारी दिए । त्यस्तै बाल यौन दुरुपयोगका घटनामासमेत उल्लेख्य वृद्धि भएको अधिकारीको भनाइ छ ।

अधिकारीले आर्थिक वर्ष २०७६÷७७ मा ५ वटा बाल यौन दुरुपयोगको घटना भएको भन्दै आर्थिक वर्ष २०७७\७८ मा १० तथा आर्थिक वर्ष २०७८\७९ मा १७ वटा घटना दर्ता भएका जानकारी दिए । बाल यौन दुरुपयोगका घटनामा विद्यालयका शिक्षकहरु समेत पीडक हुनेगरी उजुरी आउन थालेका अधिकारीको भनाइ छ । त्यस्तै अधिकारीले जिल्लामा मानव बेचबिखनका घटनामा भने कमी आएको जानकारी दिए ।

अधिकारीअनुसार आर्थिक वर्ष २०७६\७७ मा ६ वटा मानव बेचबिखनका घटना दर्ता भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७\७८ मा ४ तथा आर्थिक वर्ष २०७८\७९ मा ३ वटा घटना मानव बेचबिखनसम्बन्धी भएका अधिकारीले बताए । जिल्लामा बालक अवस्थामै लागुऔषध सेवनकर्ताको सङ्ख्या बढेको भन्दै अधिकारीले बालश्रम शोषणका विभिन्न घटनासमेत हुने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनले बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, दुव्र्यसनी घटाउने उद्देश्यले जनचेतनामूलक पाठ्य सामग्री तयार पारेको अधिकारीको भनाइ छ । ती पाठ्यक्रमहरुलाई विद्यालयमा पढाउने गरी तयारी भइरहेको उल्लेख गर्दै अधिकारीले स्थानीय तहहरुसँग सहकार्य भइरहेको जानकारी दिए ।

कार्यक्रममा माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले चितवनमा बाल यौन शोषण र महिला बालबालिको बेचबिखनको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । माइती नेपालले महिला तथा बालबालिका, यौन हिंसा र बाल हिंसा न्यूनीकरणका लागि काम गर्दै आएको गिरीले बताए । अप्ठ्यारोमा परेका बालबालिकाको उद्धार र शिक्षादीक्षा प्रदान गर्दै अभिभावकत्व ग्रहण गर्दै संरक्षण गृहमा राख्ने गरिएको गिरीले जानकारी दिए ।
माइती नेपाल चितवनले सात वर्षको बालिकालाई भरतपुरकै एसओएस विद्यालय, एक जना बालकलाई हेटौँडाको मामाघर तथा तीन जना बालिकालाई टेरेसा एकेडेमी काठमाडौँमा भर्ना गराएको भन्दै गिरीले हिंसा पीडित छ जना महिलालाई ब्युटिसियन तालिममा सहभागी गराएको बताए । उनले बालविवाह न्यूनीकरण तथा बालिबालिकामाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउने काममा माइती नेपाल अग्रसर भएर लागिरहेको बताए । माइती नेपालले बालिकाहरुको संरक्षण तथा उनीमाथि हुने हिंसाको सामना गर्दै न्याय दिलाउन नेदरल्याण्ड सरकारको सहयोगमा ‘फ्रि अ गर्ल’ परियोजना सञ्चालन गरेको छ ।

सन् २०२१ को अप्रिलबाट सुरु भएको परियोजना २०२२ को डिसेम्बरमा सकिने गिरीले जानकारी दिए । कार्यक्रममा कानुनी सहायता परियोजनाकी गोमा न्यौपाने, देवघाटको रामजानकी आश्रमकी अध्यक्ष सावित्री टण्डन, ट्रान्सपरेन्सी इन्टरनेशन चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>