देश/प्रदेश

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा संक्रमण

Banner

काठमाडौं, साउन ८-

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ । जसमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६९ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

भारतबाट फर्कनेमा कारोनाको संक्रमण देखिँदै

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।

शंकास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको संक्रमण देखिन थालेको छ । भारतबाट फर्कने शंकास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको संख्या बढ्दो रुपमा रहेको छ ।

एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको संक्रमण देखिएको उनले बताए । ‘आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चार जनाको नतिजा पोजेटिभ देखिएको छ’, उनले भने, ‘गत मङ्गलबार मात्रै नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।’

यहाँ दैनिक दुई सय बढीको एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ । ‘एन्टिजेनको नतिजा पोजेटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौँ’, उनले भने, ‘अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।’ दैनिक सीमा नाका भएर फर्कनेको संख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ । भारतबाट फर्कने व्यक्तिमा कोरोनाको संक्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>