देश/प्रदेश

चुनावअघि प्रदेश र समानुपातिक निर्वाचन प्रणाली खारेजीको माग राख्दै काठमाडौँमा प्रदर्शन

Banner

काठमाडौं, साउन ७-

आगामी चुनावअघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ ।
चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावनी समेत दिएको छ । सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । उनले तत्काल खारेज नगरे देश ठूलो संकटमा जाने बताए । सुवेदीले सञ्जालले देशव्यापी रुपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान नै चलाउने बताए । प्रदेश निकै खर्चालु भइसकेको र देशले थेग्नै नसक्ने उनको भनाइ थियो ।

दिनेश सुवेदीले संविधान निर्माणाका क्रममा संविधान सभाका सदस्यहरुले सुझाव संकलन गर्दा र सभा भेलाहरु गर्दा देशभरका अधिकांश जनताले प्रदेश सरकार संविधानमा राख्न पाइदैन, प्रत्यक्ष निर्वाचन हुनपर्दछ, समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणाली नराखियोस् भन्ने सुझाव दिएको बताए । त्यसलाई बेवास्ता गर्दै फाष्ट ट्रयाकको नाममा विधि र प्रकिया मिचेर जन आवाज विपरित देशी विदेशी शक्तिको दबाबमा प्रदेशहरु र मिश्रित निर्वाचन प्रणाली राखिएको बताए । समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणालीमा कुनै दलको पनि बहुमत नआउने हुँदा शासन सत्ता सधैँ अस्थिर हुने हुदा समावेशी सहित पहिलो हुने निर्वाचन प्रणाली चुनाव अघिनै संविधान संशोधन गरि लागु हुनुपर्ने उनले बताए ।

सञ्जालका सदस्य समेत रहेका ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले दलीय सिन्डिकेट बनाएर जनताले नचाहेको प्रणालीहरु लाद्ने गतिविधिविरुद्ध विद्रोह अनिवार्य भएको बताए । उनले जाति जातिलाई लडाउने गरी धर्ममाथि प्रहार भएको बताए । भाषा, संस्कृतिमाथि एकपछि अर्को आक्रमण गरी देशलाई द्वन्द्वमा लान खोजिएकोमा सचेत हुनुपर्ने बताए ।

सञ्जालका सदस्य सुमन केसीले स्वतन्त्रहरुको आवाज देशभर गुञ्जिइरहेको बताए । उनले जनताको अपमान गर्दै दलहरुले जर्बजस्ती समानुपातिक निर्वाचन प्रणाली र प्रदेशको व्यवस्था लागू गरेर देशलाई बर्बादीमा लगेको बताए ।

सञ्जालका सदस्य विश्व लामाले देशभरका स्वतन्त्रहरु एक भइ प्रदेश र समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न आन्दोलनमा उत्रनुपर्ने बताए । त्यस्तै अर्का अभियानकर्ता आर पि सिंहले देशमा अराजकता र भ्रष्ट्रचार ज्यादै बढेकाले विधिको शासन कायम हुनुपर्ने र भ्रष्टाचारीलाई कारवाही हुनपर्ने बताए । सञ्जालका सदस्य र समर्थकहरु माइतीघर मण्डलामा राष्ट्रिय झण्डासहित भेला भएर प्रदर्शनमा सहभागी भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>