Breaking News

नारायणी किनारका बासिन्दा भन्छन्ः आकाशमा कालो बादल मडारिँदा राति निद्रा नै लाग्दैन

Banner

नवलपुर, साउन ५-

बर्खा लागेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–३ नन्दपुरका जितबहादुर महतोको निद्रा हराउन थालेको छ ।

कतिबेला नारायणी बढेर आउँछ र आफूहरुको उठीबास लाग्ने हो भन्ने चिन्ताले उनीसँगै गाउँका धेरैजसो बासिन्दा रातमा समेत निदाउन सकेका छैनन् । ‘हिउँदभरि त हामीलाई खासै दुःख हुँदैन’, उनी भन्छन्, ‘बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरु सुरू हुन्छन् ।’

नवलपुर हुँदै बग्ने गरेको नारायणी नदी तथा यहाँ खहरे खोलाबाट बर्सेनि स्थानीय वासिन्दा पीडित हुने गरेका छन् । हरेक वर्ष बाढी र पहिराका कारण यहाँका नदी तथा खोलाले वितण्डा नै मच्चाउने गर्छन् ।

मनसुन सुरु भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरु ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको गैँडाकोट–२ का जीवन बोटे बताउँछन् । ‘बेलुका सुत्दा त ठीकै सुतेका हुन्छौँ तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन’, बोटेले भने, ‘राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ ।’

नवलपुर तथा चितवनमा पानी पर्दाभन्दा पनि पहाडतिर पानी परेको सुन्दा र आकाशमा कालो बादल मडारिँदा आफूहरुको मनमासमेत पीडाका भावहरु मडारिने गरेको बोटे बताउँछन् । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने बाटेको भनाइ छ । मनसुनका कारण नवलपुरमा सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यबिन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन् । बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ । जिल्लामा मनसुनजन्य प्रकोपबाट करिब ८० हजार परिवार प्रभावित हुने प्रक्षेपण गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

(अनलाइनखबरबाट)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>