चितवन विशेष

राप्रपा चितवनद्वारा चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन

Banner

चितवन, साउन ५-

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले संघ र प्रदेशसभा चुनावमा जनमत बढाउने गरी गतिविधिलाई तीव्र पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

स्थानीय निर्वाचनमा राप्रपा चितवनबाट उम्मेदवार भएकाहरुलाई भरतपुरमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा चितवनमा राप्रपाको पक्षमा बढ्दो जनलहरलाई अझ बढाउने गरी चुनाव लक्षित गतिविधिहरु गर्न निर्देशन दिएको हो ।

राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङले विगतभन्दा चितवनमा राप्रपाको पक्षमा जनमत निकै बढेकाले आगामी चुनावमा थप जनमत बढ्ने दाबी गरिन् । ‘निर्वाचन नजिकिएका छन्, चुनावी अभियानमा सबै लाग्नुपर्नेछ’, उनले भनिन्, ‘राप्रपाप्रतिको जनविश्वासलाई अझ लोकप्रिय बनाउन लाग्नुपर्नेछ ।’ उनले राष्ट्रियतानै संकटमा परेकाले जनता बेलैमा सजग हुनुपर्ने बताइन् । अनुदान, परियोजना तथा भ्रमणका बहानामा नेपालमा वैदेशिक हस्तक्षेप बढेको उनको भनाइ थियो । ‘देशको राष्ट्रियतानै संकटमा पुगेको छ, अब राष्ट्रवादी शक्ति राप्रपालाई जनताको घर–घर पु¥याउन जरुरी छ’, उनले भनिन्, ‘ठूला भनिएका दलहरु असफल भइसकेका छन्, अब राप्रपा बाहेक अरु विकल्प छैन ।’

राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले राप्रपाका एजेण्डा र जनपक्षीय कामहरुले जनमत अझ बढ्ने बताए । भरतपुर महानगरका उपमेयरका उम्मेदवार हिमला गुरुङले राप्रपाले स्थानीय तह चुनावमा पाएको जनमतलाई अझ बढाउन संगठनहरुलाई सक्रिय बनाउनुपर्ने बताइन् । बधाई तथा सम्मान कार्यक्रममा माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारी, भरतपुर–१२ का वडासदस्य सञ्जय थापा, खैरहनी–१ का वडा सदस्यका उम्मेदवार अरुण नेपालले राप्रपालाई संघ र प्रदेश चुनावमा अझ बलियो र शसक्त बनाइने बताए । उनले देश जोगाउन राप्रपानै सक्षम रहेको दाबी गरे ।

राप्रपाबाट यसपाली स्थानीय तह चुनावमा चितवनमा ११ जना निर्वाचित भएका छन् । जसमध्ये माडी १ र ८ मा वडाध्यक्ष, भरतपुर महानगरमा ४ जना र माडीमा ५ जना वडा सदस्यमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह चुनावमा चितवनबाट १ जनामात्रै वडा सदस्यमा निर्वाचित भएका थिए । यसपाली स्थानीय तहको चुनावमा चितवनबाट राप्रपाका ३६३ जना उम्मेदवारहरु थिए । जसमध्ये चार जना मेयर, ६ जना उपमेयर, ७० जना वडाध्यक्ष र २८३ जना वडासदस्यका उम्मेदवार बनेका थिए । राप्रपाले भरतपुर र माडीमा चुनावी तालमेल गरेको थियो ।

यसैबीच, यही असार २३ गते निधन भएका राप्रपाका युवा नेता अनुज लोहनीको परिवारलाई राप्रपा चितवनले आर्थिक सहयोग गरेको छ । पार्टीले ७५ हजार १५ रुपैयाँ नगद सहयोग गरेको हो । स्वर्गीय लोहनी स्थानीय तह चुनावमा भरतपुर–७ बाट वडा सदस्यको उम्मेदवार बनेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>