Breaking News

चितवनमा राजमार्गसँग जोडिएको जग्गा प्रतिकट्ठा १६ करोड बढीमा कारोबार

Banner

मधुसूदन दवाडी

चितवन, साउन ३-

चितवनमा जग्गाको व्यापार सुस्ताए पनि जग्गाको मूल्य भने प्रतिकट्ठा १६ करोड बढीमा कारोबार हुन थालेको छ ।

मालपोत कार्यालय भरतपुरले आर्थिक वर्ष २०७९\८० का लागि १० प्रतिशत बढाएर जग्गाको नयाँ मूल्य निर्धारण गरे पनि व्यवसायीहरुले जग्गाको मूल्य कयौं बढी लिने गरेका छन् । नारायणगढको मुख्य बजार शहिदचोकमा हातकै ८० लाखमा जग्गाको कारोबार हुने गरेको छ । मालपोत कार्यालयले गरेको सरकारी मूल्यांकनभन्दा बजारी क्षेत्रमा कयौं गुना बढीमा जग्गाको किनबेच हुने गर्छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सात जनाको मूल्याङ्कन समितिको बैठकले रजिष्ट्रेसन पारित गर्नका लागि जग्गाको न्यूनतम मूल्य निर्धारण गरेको छ । समितिमा प्रमुख जिल्ला अधिकारीसहित, जिल्ला समन्वय समितिको प्रमुख, उद्योग वाणिज्य संघको प्रतिनिधि, मालपोत, कर र राष्ट्रिय वाणिज्य बैँकको प्रतिनिधि रहन्छन् ।

भरतपुर मालपोतका प्रमुख शेरबहादुर भण्डारीका अनुसार लायन्सचोकदेखि पुलचोक नारायणी पुलसम्मका महेन्द्र राजमार्गसँग जोडिएका भरतपुर महानगरपालिका–१ को घडेरी जग्गाको मूल्य सबैभन्दा बढी प्रतिकट्ठा तीन करोड आठ लाख रुपैयाँ निर्धारण गरिएको छ । यो क्षेत्र भरतपुरको मुख्य बजारी क्षेत्र हो । व्यवसायीहरुले भने यस क्षेत्रको जग्गाको किनबेच १६ करोड बढीमा गर्ने गरेका छन् ।

नारायणगढकै शहीदचोकदेखि बालकुमारी मावि जाने चोकसम्मका घडेरी जग्गाको मूल्य प्रतिकट्ठा दुई करोड ४० लाख, महेन्द्र राजमार्गमा पर्ने नहरदेखि पुंगीखोलासम्म एक करोड २० लाख, नारायणगढ–मुग्लिन राजमार्गमा पर्ने पोखरा बसपार्कबाट वडा नं–३ सिमानासम्म एक करोड ७० लाख रूपैयाँ तोकिएको प्रमुख भण्डारीले नारायणी अनलाइनलाई बताए ।

नारायणगढ–मुग्लिन राजमार्गसँग जोडिएका रामनगर क्षेत्रका जग्गाको ३८ लाख, भरतपुर महानगरपालिका–२ अन्तर्गतको बाइपास रोडसँग जोडिएको जग्गाको ५२ लाख ५० हजार, महेन्द्र राजमार्गसँग जोडिएका भरतपुर–३ का जग्गाको दुई करोड ८५ लाख रूपैयाँ निर्धारण गरिएको छ । राजमार्गबाट खोलिएका भित्री सडकका जग्गाको एक करोड रूपैयाँ तोकिएको उनले बताए । भरतपुर विमानस्थल भन्दा पछाडि पर्ने भरतपुर–७ को बुद्धचोकदेखि क्यान्सर अस्पतालको अन्तिम सिमानासम्मको सडकसँग जोडिएको जग्गाको ६२ लाख, भरतपुर–९ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको हाकिमचोक–बसपार्कसम्मका घडेरीको एक करोड दुई लाख तोकिएको छ । त्रिचोक–धर्मचोक, त्रिचोक–पीपलचोक, लंकू खोला पुल–यज्ञपुरी चोकसम्मको पिच सडकसँग जोडिएको जग्गाको मूल्य प्रतिकट्ठा ४८ लाख ५० हजार रूपैयाँ निर्धारण गरिएको छ । भरतपुरका बजारी क्षेत्रमा जनघनत्व बढ्दै गएकोले पनि जग्गाको मूल्य आकासिएको हो ।

भरतपुर–१० अन्तर्गत पर्ने राजमार्गसँग जोडिएको भरतपुर ओरालोदेखि पारस बसपार्कसम्मको घडेरीको पनि एक करोड दुई लाख रूपैयाँ निर्धारण गरिएको छ । रत्ननगर नगरपालिकामा राजमार्गसँग जोडिएको घडेरी जग्गाको ३३ लाख, कालिका नगरपालिका–१ का पिच बाटोका जग्गाको २३ लाख, कालिका–६ खोलेसिमल बजार क्षेत्रका ३० लाख ५० हजार, इच्छाकामना गाउँपालिका–३, ४ र ५ मा पर्ने राजमार्गसँग जोडिएको जग्गाको ६६ लाख रूपैयाँ निर्धारण गरिएको छ ।

चितवनका घर जग्गा व्यवसायी दिनेश चुकेले केही वर्ष अगाडि जग्गाको कारोबार गर्दा चितवनमा मालपोत मूल्यांकनमा ५० लाख रुपैयाँ पर्ने जग्गाको पाँच करोडसम्ममा किनबेच हुने गरेको नारायणी अनलाइनलाई बताए । अहिले कारोबार सुस्ताएकोले त्यस्तो धेरै मूल्य लिने अवस्था नरहेको बताए । उनले भने, ‘ अहिले मालपोत कार्यालयले बजारमा कारोबार हुने मूल्य बराबर नै समायोजन गर्न खोज्दै छ । यस वर्ष १० प्रतिशत मूल्य बढाएको छ । तर पनि तीन करोड ८ लाख पर्ने जग्गाको कारोबार १६ करोड बढीमा कारोबार हुने गर्छ ।’ व्यवसायीले चितवनका बजारी क्षेत्रमा पर्याप्त जग्गा पाउन नसकिने भएकोले पनि भाउ महंगो पर्ने बताए । उनले नारायणगढको मुख्य बजारी क्षेत्रमा घर जग्गाको किनबेच गर्दा हातको ८० लाख रुपैयाँसम्म पर्ने गरेको बताए । उनले भने, ‘ एक कट्ठा किन्नुपर्दा १६ करोड पर्छ । व्यवसाय गर्न जग्गा चाहिनेले जग्गा जति भन्यो त्यतिमा किन्नुपर्ने भएकोले पनि भाउ बढेको बताए । चुकेले माडी र मेघौलीमा भने कतिपय जग्गाको भाउ मालपोतको मूल्य भन्दा पनि कम रहेको नारायणी अनलाइनलाई बताए ।

मारमा उद्योग

जग्गाको मूल्य बढ्दै गएकोले औधोगिक विकासमा भने असर पर्न जाने उद्योगीहरु बताउँछन् । चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेलले जग्गाको मूल्य धेरै बढ्दै गएमा औधोगिक विकासमा असर पर्ने बताए । उनले भने, ‘ औंधोगिक विकासका लागि जग्गाको मूल्य धेरै सस्तो हुनुपर्छ । उद्योग तथा व्यवसाय फस्टाउन जतिसक्दो जग्गाको मूल्य सस्तो हुनुपर्छ ।’ शहरमा जग्गाको भाउ बढेसँगै ग्रामीण भेगमा पनि मूल्य बढ्दै जाने उनले बताए । उनले भने, ‘चीनमा औद्योगिक विकास भएकै व्यक्तिगत जग्गा नभएकोले नै हो । सरकारले जति चाहिन्छ जग्गा उपलब्ध गराउँछ । ’ नेपालमा भने जग्गाको कारोबार गरेर अनुउत्पादक क्षेत्रमा मानिसहरुले लगानी गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>