राजनीति
महामन्त्रीद्वयको केटाकेटी जस्तो बनेको भन्दै कांग्रेस बैठकमा चर्को आलोचना

काठमाडौं,असार २९-
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् । महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् । केन्द्रीय समिति बैठकअघि डा.शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएका थिए । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न उठाएका थिए । एक नेताका अनुसार बुढाथोकीले गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।
‘महामन्त्री नेता हो, तर केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईहरुलाई बहिस्कार गर्ने बेला नआओस्’ बुढाथोकीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने । केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरुले पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए ।